0 COMMENTS

saudiभरत प्रधान ,साउदी अरब चैत्र ०१, २०७२ / साउदी अरबमा अलपत्र परेका नेपाली कामदारले आफूहरुको उद्धारमा दूतावासले चासो नदिएको गुनासो गरेका छन् । रोजगारदाता कम्पनीले बन्धक बनाई अलपत्र पारेपछि दूतावासलाई हारगुहार गरिएको भए पनि उद्धारमा चासो नदिइएको पीडित नेपालीले गुनासो गरेका हुन् । उद्धारमा दूतावासले चासो नदिँदा स्वदेश फर्कन नपाएको उनीहरुले बताएका छन् ।

काठमाडौँ थापागाउँस्थित ‘अल नसिर ओभरसिजप्रालि’मार्फत २२ महिनाअघि साउदीको पश्चिमी क्षेत्र जेद्धामा रहेको ‘अम्जाद फइज अलओटाबी स्टाबिविस्ट फर कन्ट्रक्सन’ कम्पनीमा आएका १० नेपालीको अझै उद्धार हुन सकेकोे छैन । पटक–पटक जेद्धास्थित महावाणिज्य दूतावासलाई उद्धार गरिदिन आग्रह गरिए पनि बेवास्ता गरिएको सुनसरीका कमुद्र्धिन मियाँले गुनासो गरे।

“दूतावास धाउन थालेको वर्षदिन भइसक्यो, कर्मचारीले आश्वासन मात्र दिने गरेका छन् । भोकै बस्नुपर्ने स्थिति आएको छ,” उनले भने – “यता हामी रोइरहेका छौँ, उता घरपरिवारमा रुवाबासी चलेको छ ।”

कम्पनीको अवस्था नाजुक बनेपछि यहाँको सरकारले रातो सूचीमा राखेकोे कारण २२ महिनाअघि साउदी आएका ती नेपाली कामदारको हालसम्म पनि आवास अनुमतिपत्र बन्न सकेको छैन । रोजगारदाता कम्पनीले परिचयपत्र लगायतका महत्वपूर्ण कागजात नबनाइदिएका कारण उनीहरु अलपत्र परेका हुन् ।

नेपाली कामदारलाई गैरकानुनी ढङ्गबाट लुकाईछिपाई अन्य कम्पनीमा काममा लगाइएको थियो । अवैध कामदारका रुपमा काममा लगाई एकातिर नेपालीले १० महिनादेखि काम गर्न पाएका छैनन् । यहाँको आवास अनुमतिपत्र नभएकै कारण बिरामी परेका उनीहरुले औषधी उपचारसमेत गर्न पाएका छैनन् ।

रातोसूचीमा परेका कम्पनीले सुधार नगरेसम्म कुनै कारोबार गर्न नपाउने, विदेशी कामदार ल्याउन भिसा नपाउने र त्यहाँ कार्यरत कामदारलाई अन्यत्र स्थानान्तरण गर्न नपाउने भएका कारण उनीहरु समस्यामा परेका हुन् । बन्द हुने स्थितिमा पुगेको कम्पनीमा पठाएर म्यानपावर कम्पनीले आफूहरुलाई फसाएको सप्तरी राजविराजका प्रेमनारायण झा बताए। ।

अवैध कामदार भएकै कारण ती नेपालीले स्वदेश फर्कनका लागि पाँच लाखदेखि रु छ लाखसम्म जरिवाना भुक्तान गर्नुपर्ने बताइएको छ । सो बराबरको रकम भुक्तान नगरी स्वदेश फर्कन नपाउने पीडित नेपालीले बताएका छन् । पटक पटक प्रहरीले पक्राउ गर्दै छाड्ने गरेका कारण पनि जरिवाना बढ्दै गएको छ ।

लाखौँ रुपैयाँ भुक्तान नगरी स्वदेश फर्कन नपाइने भन्दै उनीहरुले उद्धारका लागि सहयोगको याचना गरेका छन् । “ जरिवाना तिर्न त्यत्रो पैसा कहाँबाट ल्याएर तिर्ने हो, हामीलाई म्यानपावरले नराम्रोसँग फसायो” सर्लाही बर्मपुरेका सोमन राउतले रुँदै पीडा सुनाए।

“काम छाडेको पनि १० महिना भइसक्यो, छाक टार्न धौ–धौ भएको छ” उनले भने । स्वदेश फर्कने कुनै उपाय नदेखिएपछि केही नेपाली कामदार बन्धक बस्ने सर्तमा अन्य कम्पनीमार्फत लाखौँ रकम जरिवाना तिराएर राहदानी ट्रान्सफर गरी वैध कामदारका रुपमा सरेका छन् । जरिवाना तिरेर राहदानी ट्रान्सफर गरिदिन मञ्जुर भई रोजगारी दिएको सो कम्पनीको रकम मिलानका लागि थप २ वर्ष काम गर्नुपर्नेछ ।

यता जेद्धास्थित नेपाली महावाणिज्यदूतावासका कार्यवाहक महावाणिज्यदूत रेवतीरमण पौडेल भने उद्धारको पहल भइरहेको बताउनुहुन्छ । लामो समयसम्म गैरकानुनी रुपमा बसेका कारण पनि स्वदेश फिर्तीका लागि जरिवाना तिर्नुपर्ने कानुनी बाध्यता भएकाले समस्या देखिएको उनको भनाइ छ ।रासस

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।