0 COMMENTS

sherBahadur_Deubaकाठमाडौं, २५ फागुन । नेपाली काँग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले आफू निर्वाचनमा विजयी हुनुलाई जितभन्दा पनि जिम्मेवारी थपिएकोरुपमा व्याख्या गरेका छन् ।

निर्वाचित भएपछि सोमबार पहिलो पटक आफ्नै निजी निवास बुढानिलकण्ठमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले पार्टीको आन्तरिक निर्वाचनमा जित हार नहुने बताए । उनले पार्टीका साथीहरुले यसपालि आफूलाई जिम्मेवारी दिएको बताउँदै भने, ‘पार्टीलाई एक गरेर मजबुत बनाउनाका साथै मुलुकका समस्या समाधानका लागि पहल गर्न मलाई जिम्मेवारी दिइएको हो ।’

काँग्रेसको अधिवेशनको दौरानमा गाउँदेखि जिल्ला र जिल्लादेखि केन्द्रसम्म सहज रुपमा आन्तरिक प्रजातन्त्रको अभ्यास भएको बताउँदै नेता देउवाले मुलुकका सबै पार्टीलाई मिलाएर अघि बढ्ने बताए ।

अत्यन्तै शान्तिपूर्ण रुपमा निर्वाचन प्रक्रिया सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै उनले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिए । अरु साथीको भावनाको पनि कदर गर्ने वाचा गर्दै देउवाले भने, ‘उहाँहरु (निर्वाचनमा पराजित)को पनि मलाई सहयोग रहने विश्वास छ, नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला लगायत सबैलाई मिलाएर अघि बढ्नेछु, उहाँहरुको सम्मान र प्रतिष्ठा कायम राख्दै पार्टीमा अघि बढ्ने छु ।’

‘प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसको महाधिवेशनपछि काँग्रेस पनि सरकारमा सहभागी हुन्छ, भन्नुभएको छ नि !’ भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता देउवाले पार्टीमा अहिलेसम्म त्यसबारेमा कुनै छलफल नभएको बताए । ‘प्रजातान्त्रिक पार्टी हो, मैले एक्लै भनेर केही हुँदैन’ उनले भने ।

मुलुकका ठूला दल मिलेर सरकार सञ्चालन गरे मनपरी हुने काँग्रेसको धारणा रहेको बताउँदै उनले बहुदलीय प्रजातन्त्रमा नियन्त्रण र सन्तुलनका लागि पनि बलियो प्रतिपक्षी चाहिने काँग्रेसको धारणा रहेको जानकारी दिए । ‘बलियो प्रतिपक्षीबिनाको सरकार तानाशाही बन्न सक्छ,’ पूर्वप्रधानमन्त्री देउवाले भने ।

तराई–मधेसको असन्तुष्टिलाई कसरी समाधान गर्छन् भन्ने जिज्ञासामा नेता देउवाले असहमतिमा रहेका पक्षसँग वार्ता गरेर सीमाङ्कन लगायत सबै विषयमा छलफल गरी समाधान गरिने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।