0 COMMENTS

Shiva-Ratri-Sadhuकाठमाडौँ, २४ फागुन । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व सोमबार देशभरका शिवालयमा देवाधिदेव महादेवको पूजा अर्चना र रुद्राभिषेक गरी मनाइँदैछ ।

विभिन्न नामले पुकारिने शिव प्रादुर्भाव भएको दिनका रुपमा शिवरात्रि मनाउने परम्परा चलिआएको हो । एक अर्ब ९५ करोड ५८ लाख ८५ हजार ११६ वर्षअघि अहिलेको सृष्टिका शिवजीले अवतार लिएको शास्त्रसम्मत तथ्य भएको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

‘ब्रह्मा, विष्णु र शिवका नाममा सृष्टि, पालन र संहार गर्न फरक नाम भए पनि तीनै तत्व एकै हुन्, शिवतत्वले पालनपोषणको काम पनि गर्ने भएकाले शास्त्रीय रुपमा शिव तत्वको महत्व बढी उल्लेख गरिएको छ’– उनले भने ।

मध्यरातमा चतुर्दशी परेका दिन महाशिवरात्रि पर्व मनाउने शास्त्रीय विधान रहेको छ । वैदिक सनातन धर्मावलम्बीले वर्षमा मनाउने चारवटा रात्रिमध्ये शिवरात्रि पनि एक हो । शिवले अवतार लिएको रातलाई नै शिवरात्रि भनिन्छ ।

भाद्रकृष्ण अष्टमी अर्थात् श्रीकृष्ण जन्माष्टमीलाई मोहरात्रि, असोज शुक्ल अष्टमी र नवमीको रातको सन्धिलाई कालरात्रि तथा तिहारको लक्ष्मीपूजाको रात्रिलाई सुखरात्रिका रुपमा मनाउने परम्परा हिन्दू धर्मावलम्बीमा छ ।

शिवका रुद्र, भैरव, महादेव, महेश्वर, शङ्करलगायत हजार नाम छन् । जसलाई शिव सहस्रनाम भनिन्छ । महाशिवरात्रिका दिन द्वादश ज्योतिर्लिङ्गको पनि शिर मानिने पशुपतिनाथमा दर्शनार्थीको भीड लाग्ने गर्छ । यसदिन विश्वभरका हिन्दू धर्मावलम्बी पशुपतिनाथको दर्शन गर्न नेपाल आउने गर्छन् ।

यस अवसरमा आज मुलुकभर रहेका शिवालयमा पनि पूजा, रुद्राभिषेकसहित जल अर्पण गर्ने भक्तजनको लाम लाग्ने गर्छ । शिवलाई देवताका पनि देवता मानिने भएकाले महादेव भनिन्छ ।

शिवरात्रिको विकृतिस्वरुप गाँजा, भाङजस्ता नसालु पदार्थ सेवन गर्ने परम्परा पनि समाजमा बढ्न थालेको छ । यस वर्ष पशुपति क्षेत्रमा गाँजा निषेध गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।