फागुन ११, काठमाडौं । महिलामाथि यौन दुर्व्यवहारको अभियोग लागेका दुई जिल्ला न्यायाधीशमाथि छानविन हुने भएको छ ।
महोत्तरीका न्यायाधीश प्रकाश ढुंगाना र पूर्णप्रसाद बास्तोलाले रक्सीले मातेर एक महिलालाई हातपात गरेको घटना सार्वजनिक भएपछि उनीहरुमाथि छानविन हुन लागेको हो । प्रधानन्यायाधीश कल्याण श्रेष्ठले उनीहरुलाई सोमबार सर्वोच्चमा बोलाएका छन् ।
‘घटनामाथि सार्वजनिक टिप्पणीसमेत उठिसकेपछि यसबारे छानबिन हुन लागेको हो’ सर्वोच्चको उच्च स्रोतले भन्यो ,‘समग्र न्यायसेवामै र न्यायाधीशको गरिमामै प्रश्न खडा भएकाले छानबिन र दोषी ठहरिएमा कारबाही गर्न सम्माननीयज्यूले तत्परता देखाउनु भएको हो ।’
महोत्तरीको एक होटलमा न्यायाधीशद्वयले रक्सीले मातिएका अवस्थामा एक महिलामाथि आइतबार हातपात गरेको अभियोग लागेको छ । बास्तोलाले महिलालाई पाखुरामा समातेर अभद्र भाषामा होटलको कोठामा लैजान खोजेपछि उनी चिच्याएको स्थानीय वासिन्दाले प्रहरीमा बयान गरेका छन् ।
महिला कराएपछि न्यायाधीश भाग्न खोज्दै कारमा चढेका थिए । स्थानीय बासिन्दा र पीडितका आफन्तले उनलाई पक्राउ गरी प्रहरीलाई बुझाइदिएका थिए । तर प्रहरीले पक्राउ गर्नुका बदला न्यायाधीशलाई उम्काउने काम गरेको पीडित पक्षको दाबी छ । -कान्तिपुर दैनिक