काठमाडौं, १ फागुन। नेपाल टेलिकमले आफ्नो वाइफाइ हटस्पट इन्टरनेट सेवामा विशेष सुविधा दिने भएको छ। फागुन १ गतेदेखि लागू हुने यो विशेष सुविधमा मात्र ३० रुपैयाँमा (करबाहेक ) ५ घन्टासम्म ५१२ केबिपीएसको स्पीडमा इन्टरनेट चलाउन सकिनेछ।
३० रुपैयाँ तिरेर ५ घन्टासम्म चलाउन सकिने इन्टरनेट सेवाको समयावधि ७ दिनको हुने टेलिकमले जनाएको छ । यसअघि १० रुपैयाँमा २४ घन्टा भ्यालिडिटी रहेको १ घन्टे इन्टरनेट सुविधा टेलिकमले उपलब्ध गराएको थियो । यस्तो हटस्पट वाइफाइ नेपालका विभिन्न स्थानमा उपलब्ध छ ।
वाइफाइमार्फत इन्टरनेट चलाउनको लागि जिएसएम तथा सिडिएमए पोष्टपेड वा प्रिपेड मोवाइलको म्यासेज बक्समा गई wifi टाइप गरी १४१६ मा म्यासेज पठाउनुपर्ने टेलिकमले जनाएको छ । उक्त सन्देश पठाएपछि टेलिकमले पासवर्ड पठाउँछ र त्यही पासवर्ड प्रयोग गर्दै सात दिनभित्र पाँच घन्टा इन्टरनेट चलाउन सकिन्छ ।