0 COMMENTS

Madheshi-leaders-काठमाडौं, २१ माघ । बिहारका नेताहरूको समर्थन जुटाउन त्यसतर्फ गएका मधेसी मोर्चाका नेतासमक्ष नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्ने सुझाव भारतीय जनता पार्टीका एक प्रभावशाली नेताले दिएका छन् । बिहारका मुख्यमन्त्री नीतिशकुमार र सत्ता गठबन्धनका प्रभावशाली नेता लालुप्रसाद यादवलाई भेटी उनीहरूको समर्थन हासिल गरेलगत्तै मोर्चाका नेताले पूर्वउपमुख्यमन्त्री तथा भाजपाका बिहार प्रमुख सुशील मोदीसँग भेट गरेका थिए ।

मोदीले उनीहरूका मागबारे केन्द्र सरकारसँग कुरा गर्ने आश्वासनसँगै नेपाललाई हिन्दु राष्ट्र बनाउन उठेका आवाजविरुद्ध नजान पनि मोर्चाका नेताहरूलाई सुझाव दिएका थिए । मोर्चाका नेताहरू पूर्वनिर्धारित कार्यक्रमअनुसार बिहारको पटनापछि उत्तर प्रदेशको लखनउ जाँदैछन् । त्यहाँ उनीहरूले मुख्यमन्त्री अखिलेश यादवलगायत विभिन्न दलका नेतासँग भेटघाट गर्ने कार्यक्रम छ ।
संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता एवं संसदीय दलका नेता अशोक राईले भने, ‘मधेस आन्दोलनलाई भारतको केन्द्रीय सरकारका साथै छिमकी बिहार र उत्तरप्रदेशका मुख्यमन्त्री, प्रमुख दलका नेताहरूको सहयोग र समर्थन लिने योजनाबद्ध नीतिअनुसार पार्टी अध्यक्ष उपेन्द्र यादव जानुभएको हो ।’

मोदीले मधेसी मोर्चाका नेता यादव, राजेन्द्र महतो र महेन्द्रप्रसाद यादवसँग मोर्चाको आन्दोलनलाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपालमा कुनै कोणबाट उठिरहेको हिन्दु धर्मलाई मोर्चाले नैतिक समर्थन गर्नुपर्ने संकेत पनि दिएका थिए ।

मोदीलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘हामी तपाईंहरूको आन्दोलनलाई समर्थन गर्छौं । नेपालमा कुनै कोणबाट उठिरहेको हिन्दु धर्मको मागप्रति गम्भीर हुनुहोला ।’ नेपालमा हिन्दु धर्म हुनुपर्नै कुरामा भाजपाका अधिकांश नेता सहमत रहेको जानकारी पनि मोदीले दिएका थिए ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष यादव, सद्भावना पार्टीका अध्यक्ष महतो र तराईमधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रप्रसादलगायतका नेताले बिहारपछि उत्तर प्रदेशमा मुख्यमन्त्री यादवलगायत प्रमुख दलका नेता, सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका नेतासँग परामर्श गर्ने जानकारी राईले दिए । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।