काठमाडौं, १४ माघ । एकीकृत नेकपा माओवादीको भातृ संगठन अखिल(क्रान्तिकारी) ले मुलुकमा भइरहेको कालोबजारी र मुल्यबृद्धि विरुद्ध देशका ७५ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।
देशमा समानान्तर अर्थतन्त्र विद्यमान रहँदापनि सरकारको उपस्थिती शून्यप्रायः रहेको भन्दै अखिल(क्रान्तिकारी) ले ज्ञापनपत्र बुझाएको हो । ‘नेपाली जनताको आत्मनिर्णयको अधिकारमाथि भारतीय शासकहरुले बलात् हस्तक्षेप गरी गरिएको नाकाबन्दीले ग्याँस, तेल, खाद्यान्न लगायतका वस्तुहरुको अभाव देखाउँदै कालोबजारी र मूल्य वृद्धि चरमोत्कर्षमा पु¥याइएको छ’, ज्ञापनपत्रमा भनिएको छ,‘नेपाली जनताको राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा सरकारको उपस्थिती शून्यप्रायः बनिरहेको छ ।
काठमाडौंको माइतिघर मण्डलाबाट नाराजुलुससहित बबरमहल स्थित सिडियो कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अखिल(क्रान्तिकारी) का केन्द्रिय अध्यक्ष रमेश मल्लले कालोबजारी, विद्यार्थी सहुलियत र मूल्य समायोजनका बारेमा देशैभरीका जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण गराइएको जानकारी दिए । ‘देशमा समानान्तर अर्थतन्त्र हावी हुँदापनि सरकारको उपस्थिती नदेखिनु मुलुक असफल राष्ट्रतर्फ उन्मुख भएको संकेत हो’, मल्लले भने,‘हामीले संघर्ष गरेर प्राप्त गरेको यातायातमा विद्यार्थी सहुलियतको अधिकारलाई समेत राज्यले अनुगमन गरेर व्यवस्थित गर्न सकेको छैन । ’ अखिल(क्रान्तिकारी) का केन्द्रिय सदस्य गेहेन्द्र ढकालले सरकारले अविलम्ब अन्तर्राष्ट्रिय बजार अनुसार पेट्रोलियम पदार्थको मुल्य समायोजन गर्नुपर्ने बताए । ‘अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य विगत चार वर्ष यताकै सबैभन्दा सस्तो छ’, उनले भने,‘नेपालमा भने इन्धनको मूल्य र भाडादर अवैज्ञानिक त छँदैछ सरकारले विद्यार्थी सहुलियतको अधिकारलाई समेत सुनिश्चित गर्न सकेको छैन, हामी यहि प्रबृत्तिका विरुद्धमा सडकमा आएका हौँ ।’
त्यस्तै अखिल(क्रान्तिकारी) क्याम्पस जिल्ला उपाध्यक्ष इन्द्र लामाले सरकार जनजिविकाका सवालमा निरिह बनेको आरोप लगाए । ‘डिपोमा ग्याँस छैन तर चर्को मूल्य तिरेर कालाबजारमा प्रशस्तै ग्याँस र इन्धन पाइन्छ’, उनले भने,‘यदि सरकार जनताका आवश्यकता पुरा गर्न सक्षम छैन भने अखिल(क्रान्तिकारी) कालाबजारीको विरुद्धमा सडकमा आउनेछ ।’ अखिल(क्रान्तिकारी) ले नागरिकले भोगेको कठिनतालाई सरकारले बेलैमा सम्बोधन नगरेको खण्डमा कडाभन्दा कडा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्