0 COMMENTS

Fuel_From_Plastic_NAST_167311853पाैष ३० काठमाडौँ / तपाईँले फोहोर भनेर फाल्ने गर्नुभएको प्लास्टिक अबदेखि कहीँकतै नफाल्नु होला । प्लास्टिकको प्रयोग पुनः हुँदैन भन्दै जलाउने गर्नुभएको छ वा अरु केही गर्नुभएको छ भने त्यसो नगर्नु होला किनकी सरकारले प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधि भित्र्याएको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट)ले प्लास्टिकबाट इन्धन निकाल्ने प्रणाली जडान गरेको छ । प्लास्टिकबाट इन्धन निकाल्नेसम्बन्धी द्विपक्षीय समझदारीमा नास्टका प्रविधि सङ्कायका प्रमुख डा सुरेशकुमार ढुङ्गेल र इको पाटीका अध्यक्ष चिसेको मात्सुमोतोले आज हस्ताक्षर गरे ।
नेपालमा यो प्रविधि नयाँ भए पनि संसारका विकसित मुलुकका लागि भने पूरानै हो । इको पाटी जापानले उपलब्ध गराएको प्रविधि र उपकरणबाट नास्टमा इन्धन निकाल्ने प्रविधिसमेत जडान गरिसकिएको छ ।
हाल जडान गरिएको प्रविधिबाट एक किलो प्लास्टिकबाट करिब एक लिटर कच्चा इन्धन निकालिएको छ । नास्टका वरिष्ठ प्राविधिक अधिकृत डा रवीन्द्रप्रसाद ढकाल परीक्षणका रुपमा नै प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधि भित्र्याउन पाउँदा आफूहरुलाई खुसी लागेको बताउँछन् ।
नास्टले ठूलो परिमाणमा प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधिसमेत आगामी एक महिनाभित्र भित्र्याउने उद्देश्य राखेको छ । ‘सबै प्रक्रिया अगाडि बढेको छ, हामी आगामी एक महिनाभित्र जडान गरिसक्छौँ’, प्रविधि सङ्काय प्रमुख ढुङ्गेलले भने ।
सामान्यतः एक किलोग्राम प्लास्टिकबाट ७ सय मिलिलिटर पेट्रोल उत्पादन गर्न सकिन्छ ।
नास्टका वैज्ञानिकसमेत रहनुभएका डा ढकालका अनुसार सामान्य पानीको बोत्तल एक किलोग्राम प्रशोधन गर्दा ७ सय मिलिलिटर कच्चा इन्धन उत्पादन हुन्छ भने सोही बोत्तलको बिर्को प्रयोग गर्दा ८ सय मिलिटरसम्म कच्चा इन्धन उत्पादन हुन सक्छ ।
विगतमा सरकारले प्रयास नगरेका कारण प्लास्टिकले वातावरण प्रदूषण गरेको भए पनि आगामी दिनमा नास्टले इन्धन निकाल्ने प्रविधि ल्याएपछि प्लास्टिक सार्वजनिक स्थानमा नफाल्न र पुनः प्रयोगका लागि सङ्कलन गर्न सकिन्छ ।
नास्टका सचिव बुद्धिरत्न खड्गीले प्लास्टिकबाट ठूलोमात्रामा इन्धन निकाल्ने प्रविधि केही समयभित्रै जडान गरिने भए पनि तत्कालका लागि सानो प्रविधि जडान गर्न पाउनु आफूहरुका लागि खुसीको विषय भएको बताए ।
प्लास्टिकजन्य फोहोर जलाउँदा निष्कासन हुने कार्बनडाइअक्साइड तथा फ्यूरानजस्ता विषाक्त ग्यासले क्यान्सरजन्य रोग निम्त्याउने, माटोको उर्वराशक्ति घटाउने, जमिनमा पानी रिचार्ज हुन नदिने, सहरको सौन्दर्य घटाउने, जस्ता समस्या भोग्दै आएका छौँ ।
इको पाटी जापानका अध्यक्ष मात्सुमोतो नेपालका हिमालबाट सुरु भइ प्लास्टिक प्रदूषण समुद्रसम्म पुग्ने भएकाले त्यसलाई नियन्त्रण गरी वातावरण संरक्षण गर्न पनि प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधिमा काम गर्न लागेको बताउनुहुन्छ ।
काठमाडौँ महानगरपालिका वातावरण विभाग प्रमुख हरि कुँवरकाअनुसार दैनिक काठमाडौँ उपत्यकामा एक हजार मेट्रिक टन फोहोर उत्पादन हुन्छ भने महानगरको मात्रै ५ सय ५० टन फोहोर उत्पादन हुन्छ ।
उत्पादित फोहोरमध्ये २० प्रतिशत भन्दा बढी फोहोरको मात्रा प्लास्टिक तथा प्लास्टिकजन्य फोहोर रहने गरेको छ ।
यस हिसाबले २० टनभन्दा बढी प्लास्टिकजन्य फोहोर त काठमाडौँ उपत्यकाबाटै उत्पादन हुन सक्छ । डा ढकालकाअनुसार एक हजार किलो प्लास्टिकको फोहोरबाट करिब ७०० लिटर इन्धन उत्पादन गर्न सकिन्छ ।
काठमाडौँ उपत्यकाबाट मात्रै दैनिक एक लाख ४० हजार लिटर इन्धन उत्पादन हुन्छ । विराटनगर, वीरगन्ज, नारायणगढ, पोखरा, दाङ, नेपालगन्ज, धनगढी, महेन्द्रनगर जस्ता ठूला सहरबाट सङ्कलन हुने प्लास्टिकजन्य फोहोरबाट पनि दैनिक तीन लाख लिटर भन्दा बढी इन्धन उत्पादन गर्न सकिने डा ढकालको भनाइ छ ।
‘महानगर आफैंले पहल गरेको छैन, नास्टले अनुसन्धान गरिरहेको भए राम्रो भयो’, प्रमुख कुँवरले भने, ‘त्यसले हामी सबैलाई प्रेरित गर्छ नै, नसड्ने फोहोरलाई इन्धन बनाउन सके त त्यसले फोहोर व्यवस्थापन पनि हुन्छ । विकल्प पनि तयार हुन्छ।’
भूकम्पपछि काठमाडौँ उपत्यकामा प्लास्टिकजन्य फोहोर वृद्धि भएको थियो । भूकम्पपीडितका लागि राहत बाँड्न प्लास्टिकमा राखिएको सुख्खा खाना वितरण गरिएकाले प्लस्टिकजन्य फोहोर अत्यधिक बढेको फोहोरमैला व्यवस्थापन प्राविधिक केन्द्रको अध्ययनले देखाएको थियो ।
त्यसका आधारमा पनि पछिल्लो दिनमा प्लास्टिकजन्य फोहोरको मात्रा बढेको अनुमान गर्न सकिन्छ ।
काठमाडौँ उपत्यकामा उत्पादित फोहोरमध्ये ६० प्रतिशत फोहोर कुहिने हुन्छ । जसबाट प्राङ्गारिक मलको अर्को व्यवसाय गर्न सकिन्छ भने २० प्रतिशत प्लास्टिकजन्य फोहोर हुन्छ । केही पुनः प्रयोग गर्न सकिन्छ ।
प्लास्टिकजन्य फोहोरबाट डिजेल, पेट्रोल, मट्टीतेल उत्पादन गर्न सकिन्छ । प्लास्टिकबाट डिजेल मात्रै निस्कन्छ भन्ने होइन भन्ने जानकारी दिँदै डा ढकाल विभिन्न उत्प्रेरक राखेर फर्नाइस तेल पनि उत्पादन गर्न सकिने बताउँछन् ।
व्यावसायिक उत्पादनका लागि सरकार र निजी क्षेत्रलाई मार्ग प्रशस्त गर्न नास्टले प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधि भित्र्याएको उनको भनाइ छ ।
आगामी डेढ महिनाभित्र नास्टमा प्रयोगशाला स्थापना हुने जानकारी दिँदै डा ढकाल दक्षिण अफ्रिका, अमेरिका, क्यानडा जस्ता मुलुकमा प्लास्टिकबाट व्यावसायिक रुपमा इन्धन उत्पादन गरिएको बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।