0 COMMENTS

gagan-thapaकाठमाडौं, २९ पुस । नेपाली कांग्रेसको तेह्रौँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्न चाहनेहरूको सङ्ख्या दश पुगेको छ । सम्भावित उम्मेदवारको सूचीमा सर्वाधिक थोत्रो नेता सुशील कोइरालादेखि नयाँ नेता गगन थापासम्म छन् । पार्टीका प्रमुख नेताहरू सुशील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच हुने सम्भावित प्रतिस्पर्धालाई उच्च चासोका साथ हेरिएकोमा युवा नेता गगन थापालाई समेत एकथरी नेता–कार्यकर्ताले पार्टी सभापतिमा उम्मेदवार बन्न सुझाव र दबाब दिइरहेको बुझिएको छ ।

गत सोमबार धुलिखेलमा सम्पन्न कांग्रेसका केही नेता तथा कार्यकर्ताहरूको प्रतिनिधिमूलक भेलाले थापालाई सभापतिको उम्मेदवार बनाउने निष्कर्ष निकालेको छ । यसअघि थापा महामन्त्री पदमा उम्मेदवारी दिने सोचमा रहेका भए पनि शुभचिन्तक एवम् समर्थकहरूको दबाबका कारण उनी सभापतिको उम्मेदवार बन्ने निश्चित मानिएको छ । थापासमेत कांग्रेसको संस्थापन पक्षबाट उम्मेदवार बन्नेहरूको सङ्ख्या कम्तीमा तीन पुगेको छ ।

यसअघि नै सभापति सुशील कोइराला र उपसभापति रामचन्द्र पौडेलले सभापतिको उम्मेदवार बन्ने जानकारी सार्वजनिक गरिसकेका छन् । त्यसो त डा. रामशरण महत, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र डा. शशांक कोइरालालाई पनि सभापतिमा उम्मेदवारी दिन इच्छुक नेताका रूपमा लिइन्छ । गिरिजापुत्री सुजाता जोष्टले समेत आफू कांग्रेसको सभापति बन्न तयार रहेको जनाएकी छिन् ।

बाह्रौँ महाधिवेशनमा सुशील कोइरालाको खास सहयोगी रहेका अर्जुननरसिंह केसी पनि आवश्यक परे सभापतिमै उम्मेदवारी दिने सोचमा रहेको बताइन्छ । तर, गगन थापाले सभापतिमा उम्मेदवारी दिएको अवस्थामा केसीले के गर्ने हुन् सो भने स्पष्ट हुन सकेको छैन । घटना र विचार साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।