0 COMMENTS

prachandaदाङ, २६ पुस । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफूहरु काठमाडौं फर्किएलगत्तै मधेसी मोर्चासँग निर्णायक वार्ता गरेर समस्याको टुङ्गो लगाउने बताएका छन् ।

दाङ जिल्ला उद्योग वाणिज्य सङ्घले आइतबार घोराहीमा गरेको स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले आफूहरुले निर्णायक वार्ता गर्ने र अबको दुई/तीन दिनमा नै नाकाबन्दी र मधेस समस्या समाधान हुने बताए । संविधान निर्माणसँगै नेपाल र नेपालीले भोग्नुपरेको समस्याबाट पाठ सिकेर देश अगाडि बढ्ने उनको भनाइ थियो ।

वि.सं २०७२ लाई असाधारण वर्ष भन्दै उनले यो वर्ष भोग्नुपरेका समस्यालाई अवसरको रुपमा लिएर अगाडि बढ्न आवश्यक भएको बताए । अध्यक्ष दाहालले देश अब आत्मनिर्भर बन्न आवश्यक भएको पनि बताए ।

उद्योग वाणिज्य सङ्घले बुझाएको ज्ञापनपत्र बुझ्दै पूर्व प्रधानमन्त्री दाहालले दाङ प्रादेशिक राजधानी बनाउने विषयमा आफू लागिपरेको बताए । उद्योग वाणिज्य सङ्घले निर्माण गर्न लागेको बहुउद्देश्य सभागृह निर्माणका लागि बजेट विनियोजन गरिने उनले आश्वासन दिए ।

कार्यक्रममा उद्योग वाणिज्य सङ्घका अध्यक्ष हेमराज बञ्जाडेले उद्योग वाणिज्य सङ्घले निर्माण गरेको सभागृह निर्माणका लागि बजेट विनियोजन गर्न, सुर्खेत हुँदै तुल्सीपुर घोराही मुकुर्टी प्यूठानको बागदुला, मच्छी, अर्घाखाँची, गुल्मी र रिडी हुँदै कालिगण्डकी जलविद्युत् योजना हुँदै स्याङ्जासम्म जाने सडकलाई राष्ट्रिय राजमार्गको नामाकरण गरी काम गर्नुपर्ने, सहिद मार्ग निर्माण छिटो सम्पन्न गर्नुपर्ने, लमही कोइलाबास हुलाकी सडक छिटो सम्पन्न गनुपर्ने मागसहितको ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापनपत्रमा टरिगाउँ विमानस्थलका लागि इन्धन डिपोसहित नियमित उडान गर्नुपर्ने, रुकुम र सल्यानलाई प्रदेश नं ५ मा समावेश गरी प्रादेशिक राजधानी दाङलाई बनाउनुपर्ने, घोराहीमा मेडिकल कलेज स्वीकृत भइसकेकाले थप काम अगाडि बढाउनुपर्ने र देशमा उत्पादन हुने वस्तुको उत्पादनमा वृद्धि गरी उद्यम विकास गर्न राज्यले ठोस कार्यक्रम ल्याउनुपर्ने माग पनि गरिएको छ ।

एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै भारतसँगको नाका खोल्ने र मधेस आन्दोलन समाधान गर्ने विषयमा राजनीतिक रुपमा टुङ्गो लाग्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।