0 COMMENTS

ishwor-pokharelबर्दिवास, २४ पुस । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले मधेसको अहिलेको समस्या बस्तुगतभन्दा बढी सिर्जित रहेको बताएका छन् ।

महोत्तरीको बर्दिवासमा आज कार्यकर्तासँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले संविधान घोषणाको ऐतिहासिक उपलब्धिलाई हेर्न र पचाउन नसक्नेले फैलाएका भ्रम चिर्न नसक्दा समस्या बढेको बताएका छन् ।

विश्वकै उदाहरण हेरिँदा पनि उत्कृष्ट संविधानबारे मधेसी जनतालाई बताउन, बुझाउन नसक्दा भ्रमको खेती गर्नेले ठाउँ पाएका पोखरेलको भनाइ छ । अत्यन्त लोकतान्त्रिक विधि र प्रक्रिया अपनाएर घोषणा गरिएको संविधानले मुलुकलाई स्थिरता दिने कुराबाट आत्तिएका देशी र विदेशी शक्तिले नेपाली आँगनमा भ्रमको खेल खेलेर मधेस तताएको महासचिव पोखरेलको भनाइ थियो ।

संविधानले उत्पीडित जाति समुदाय, महिला, दलित, मधेसी र अल्पसङ्ख्यकको हकमा विशेष व्यवस्था गरेको कुरा संविधानका पानामा घामजस्तै छर्लङ्ग भए पनि त्यही कुरा जनतामा पुग्न नसक्दा समस्या बढेको पोखरेलले बताए ।

संविधान लेखिंदा र घोषणा गरिंदासम्म केही कुरा छुटेका रहेछन् भने त्यसलार्ई संवैधानिक बाटोबाट समावेस गर्न सकिने प्रावधान रहेको तर्फ पोखरेलको जिकिर थियो । ‘संविधान ढुङ्गामा लेखिएका अक्षर होइनन्’ महासचिव पोखरेलले भने, ‘यसलाई आवश्यकता र औचित्यका आधारमा परिवर्तन र परिमार्जित गर्न सकिन्छ ।’

पछिल्ला समयमा मधेससँग जोडिएका संविधानमा सम्बोधन हुनपर्ने कुराबारे संवैधानिक प्रक्रियाबाटै समावेसको प्रक्रियाअघि बढेर निर्णायक तहमा पुगिसकेको पोखरेलले बताए ।

अब मधेसवादी दलले एमाले, काँग्रेस र एमाओवादीलाई सत्तोसराप गर्न छाडेर संविधानमा सम्बोधन गरिनुपर्ने कुराबारे संसदमा छलफल गर्न उनको सुझाव थियो । रासस

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।