0 COMMENTS

गाेरखा, पुस १५ ।नेपाली सेनाको चौबीसै घण्टा डयुटी हुने ब्यारेकभित्रको गोदामबाट राहत सामग्री हरायो भन्दा अनौठो लाग्छ । प्रहरी नै चोरीमा संलग्न थिए भनेर पत्याउन अझ मुस्किल पर्छ । तर, घटनाले त्यही पुष्टि गरेको छ ।

जिल्ला दैवी प्रकोप उद्धार समितिको गोदामबाट राहत सामग्री गायब भएको घटना सुनेर भूकम्पपीडित छक्क परेका छन् । ‘कार्टुनभित्र बाल्टी, थाल र प्रेसर कुकर राखिएको थियो,’ समितिका एक सदस्यले भने, ‘कार्टुनबाट प्रेसर कुकर गायब पारियो । थाल र बाल्टी जस्ताको तस्तै छ ।’

भूकम्पका बेला जिविसको गोदामको सुरक्षाको जिम्मा नेपाल प्रहरीलाई दिइएको थियो । प्रहरीले नै राहत सामग्री चोरेपछि गोदाम नेपाली सेनाको ब्यारेकमा सारियो । ब्यारेकको भण्डार कक्षबाट पनि स्तरीय, महँगा र राम्रा राहत सामग्री हराएको स्रोतले बताएको कान्तिपुर दैनिकमा खबर छ।

‘राहत सामग्री कर्मचारी, सेना प्रहरीले रक्सी र लोकल कुखुरासँग साटेर भोज गरे’, उनले भने । भोजमा प्रमुख जिल्ला अधिकारीसमेत सहभागी भएको ब्यारेक स्रोतले जनाएको छ । कति राहत सामग्री आए, कति गोदाममा बाँकी छ आधिकारिक तथ्यांक समितिसँग छैन ।

‘सयौं राम्रा टेन्ट, ब्ल्यांकेट, कुकर, फिल्टर र चामललगायत खाद्यान्न कर्मचारी र सेना प्रहरीका अधिकृतले घरसम्म पुर्‍याएँ,’ गोदाममा खटिएका कर्मचारीले भने ।

प्रजिअ उद्धव तिमल्सेनाले गोदाम हेर्न तनहुँ व्यास नगरपालिकाका प्रशासकीय अधिकृत रामचन्द्र हडखलेलाई काज सरुवा गरेर ल्याएका थिए ।

उनैले सबैभन्दा बढी राहतमा अनियमितता गरेको स्रोतको दाबी छ । प्रजिअ र राजनीतिक दलको निर्देशनमा उनले राहत सामग्री वितरण गरेका थिए ।

समितिको निर्देशनमा मात्रै राहत सामग्री बाँडेको प्रजिअ तिमल्सेनाले दाबी गरे । उनले ब्यारेकभित्र गोदामको सामग्री नहराउनु पर्ने बताए । ‘राहत सामग्री आवश्यकताअनुसार वितरण गर्ने र बाँकी रहेको रेडक्रसलाई जिम्मा लगाउने निर्णय भएको छ,’ उनले भने । पहुँचका आधारमा भन्दा पनि आवश्यकताका आधारमा सामग्री वितरण गरिएको दाबी उनले गरे ।

आजको कान्तिपुर दैनिकबाट साभार

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।