0 COMMENTS

चन्द्रपुर, ६ पुस ।तराईमा आन्दोलन चलिरहेका बेला बसका मालिकले बिमा रकम लिनका लागि आफ्नो बसमा आफैं आगजनी गर्न थालेका छन् । आन्दोलनकारीले बसमा आगो लगाएको जस्तो देखाएर मालिकले नै पुरानो बसको बिमा रकम लिन आफैं बस जलाउने गरेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ ।
रौतहटको चन्द्रपुर, ८ मंगलपुरस्थित पूर्वपश्चिम राजमार्गमा आइतबार बिहान एक यात्रुबसमा बसका कर्मचारी आफैंले आगजनी गरेर फरार भएको प्रहरीले जनायो । यस्तै घटना दुई साताअघि बाराको निजगढ-पथलैया सडक खण्डमा पनि भएको थियो । मंसिर १९ गते बसका मालिक र चालकको मिलेमतोमा निजगढबाट हेटौंडा चल्ने ना४ख ३२१६ नम्बरको बसमा आगजनी भएको थियो । प्रहरीले शंका लागेर अनुसन्धान गर्दा फाइनान्सका नाममा उक्त बस रहेको र बिमा रकम लिनका लागि चालकलाई पैसाको लोभ देखाएर मालिकले नै आगजनी गराएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक लोकेन्द्रबहादुर मल्लले बताए । बसमा आगो लगाउने बसका चालक ३० वर्षीय राजीव लामालाई प्रहरीले सार्वजनिक मुद्दा चलाएको छ । मधेसमा आन्दोलन चलिरहेका बेला त्यसको फाइदा उठाएर मालिकले नै बस जलाएको खुलासा भएको प्रहरी उपरीक्षक मल्लको भनाइ छ ।

यस्तै घटना आइतबार रौतहटमा भएको भन्दै प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । काठमाडौंबाट झापा जाँदै गरेको ना४ख ५१० नम्बरको मितेरी यातायातको बस बन्दको समयमा इन्धन बोक्न प्रयोग हुँदै आएको थियो । काठमाडौं इन्धन पुर्‍याएर यात्रु नबोकी झापा फर्कंदै गर्दा बिहान करिब ४ बजेतिर बसमा आगजनी भएको थियो । आगजनीबाट बस पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । मंगलपुर गाउँनजिकै आगजनी हुँदासमेत बसका कर्मचारीले स्थानीय बासिन्दा र नजिकै रहेको प्रहरीलाई खबर नगर्नुले घटना शंकास्पद देखिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । बसका चालक र सहयोगी बसमा आगजनी भएपछि सम्पर्कमा छैनन् । मितेरी यातायात प्रालिका एकजना लगानीकर्ता शेखर गुरागाईंले बसमा आगजनी भएको खबर पाएको र कर्मचारी सम्पर्कमा नआएको टेलिफोन सम्पर्कमा बताए ।
बस आबद्ध रहेको युनाइटेड नेपाल प्रालि भलाइ कोषका अध्यक्ष राजेन्द्र तिवारीले बिमा रकम लिनका लागि बसमा आगजनी नभई मालिक र कर्मचारीबीचको विवादले आगजनी गरेको हुनसक्ने आशंका व्यक्त गरे । तिवारीले भने, ‘घटना शंकास्पद रहेकाले बस कम्पनीका मालिकसँग कुरा गरेर वास्तविकता बुझ्ने प्रयास भइरहेको छ ।

बस पुरानो हुँदै गएपछि बिक्री गर्दा कम मूल्य आउने, पुरानो बसमा यात्रुसमेत नचढ्ने भएकाले आन्दोलनका बेला आगजनी गर्ने र बिमा रकम दाबी गर्ने गरेको प्रहरी अनुमान छ । फरार रहेका बसका चालक र कन्डेक्टरको खोजी भइरहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी मनोजकुमार यादवले बसमा आन्दोलनकारीले नभई बसका कर्मचारीले नै आगजनी गरेर फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।