पुस ६, काठमाडौँ । एमालेले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अमर्यादित व्यवहार भएको भन्दै आपत्ति जनाएको छ । आन्दोलनरत मधेसी मेर्चाको उक्त कदमको भत्सर्ना गर्दै सार्वजनिक रुपमा माफी माग्न मोर्चाका नेताहरुको ध्यानाकर्षण गराएको छ ।
‘मधेसी मोर्चाका तर्फबाट महामहिम राष्ट्रप्रतिप्रति गरिएको व्यवहार बर्बर, मध्ययुगीन र असभ्यमात्रै छैन, अत्यन्त निन्दनीय पनि छ । यसले आधुनिक नेपाली समाजलाई मात्र कलंकित गरेको छैन, राष्ट्रको निर्माण र परिवर्तनको लामो संघर्षमा अभूतपूर्व योगदान गर्ने सिङ्गो महिला समुदायलाई घोर अपमानसमेत गरेको छ,’ एमाले सचिव योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपालको संविधानले धर्म, जात, लिङ्ग र रंगका आधारमा हुने सबैखाले विभेदहरुलाई संवैधानिक रुपले अन्त्ये र राष्ट्रले देशभित्रका सबै धर्म, संस्कृति, परम्परा र रितिरिवाजप्रति समान सम्मान र व्यवहार गर्ने प्रतिबद्धता प्रकट गरिसकेको भट्टराईले स्मरण गराएका छन् । -कान्तिपुर दैनिक