काठमाडौं, ५ पुस । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बर्तमान ओली सरकार चाँडै ढल्ने दावी गरेका छन् ।
रिपोर्टस क्लब नेपालले आईतबार राजधानीमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै यादवले ओली गैरजिम्मेवार र देशमा देखिएका समस्या समाधान गर्न असक्षम भएकाले उनको सरकारको भविश्य नरहेको बताएका हुन् । कार्यक्रममा बोल्दै यादवले आफु चाँडै भुतपुर्व हुने देखेर ओलीले विशिष्टहरुका सेवा सुविधा बढाउन लागेको भन्दै कटाक्ष समेत गरेका छन् । बालुवाटारले कालोबजारीबाट प्रसस्तै लाभ लिइरहेकाले सरकारनै आन्दोलन लम्ब्याउने दिशामा लागेको बताउँदै उनले नाकाबाट दैनिक भित्रिएका सयौँ ट्याङ्कर इन्धन र ग्याँसका बुलेट बालुवाटारको योजनामा ‘ब्ल्याक मार्केट’ मा गइरहेको आरोप समेत लगाएका छन् ।
मधेसी जनतालाई ‘जनावर’ भन्ने प्रधानमन्त्रीको भाषाशैली गल्लीको डन र माफियाको जस्तो भएको भन्दै आक्रोश पोखेका यादवले अन्धराष्ट्रवादबाट दिक्षित ओलीनै बर्तमान समस्याको प्रमुख कारक रहेको जिकीर गरेका छन् । उनले उत्तर र दक्षिणबाट भित्रिएका अतिवाद र अन्धराष्ट्रवादले जनताबीचको दुरी बढाउँदै लगेकाले उक्त प्रबृत्तिले कसैको पनि भलाई नगर्ने बताए । यसपालीको मधेस आन्दोलनले कुनै सम्प्रदाय हार्ने र कुनै जित्ने नभइ समग्र नेपालले जित्ने बताउँदै यादवले सत्तापक्षले तीन महिनामा सिमाङ्कन टुङ्गीने विश्वसनीय आधार प्रस्तुत गरेको खण्डमा आफुहरु बार्तामा बस्ने संकेत गरेका छन् ।