0 COMMENTS

कालीकोट, ५ पुस । यस वर्ष पनि खडेरीले हिउँदे बाली उत्पादनमा कमी आउने भएपछि कृषक चिन्तित भएका छन् ।

गएको बर्खेे बाली खडेरीले सुकेपछि भोकमरीको समस्यामा परेका कालीकोटका अधिकांश गाउँका कृषक हिउँदे बालीमा समेत असर परेपछि चिन्तित भएका हुन् ।

गाउँमा खाद्यान्न किन्न आर्थिक सामथ्र्य छैन कसरी घरपरिवार पाल्ने भन्दै स्थानीयवासी चर्काे ब्याजदरमा ऋण निकाल्दै कालापहाड (भारत) जान थालेका छन् ।

थिर्पु गाविसका अनरुप सुनारले दुःख पोख्दै भने लगाएको अन्न सुकेर नष्ट भयो खानालाई ऋण निकालेर स्थानीय लालीघाट बजारबाट चामल ल्याएर खानुपर्ने बाध्यता रहेको बताए ।
जिल्लाका अधिकांश गाउँका कृषक सिँचाइको अभाव झेल्दै आएका छन् । बर्खेे तथा हिउँदे बालीका लागि आकाशे पानीको भरमा बाली लगाउनु पर्ने बाध्यता भएपछि दुवै मौसमको बाली उत्पादनमा कमी आएको हो ।

जिल्लाका सिँचाइ हुने रास्कोट क्षेत्रको फुकोट, स्युना, सिपखाना, ओदानकु, चिल्खाया थिर्पुलगायतका गाविसमा सिँचाइबाट गहुँबाली लगाइएको छ भने जिल्लाका राम्नाकोट, थिर्पु, नानीकोट, धौलागोह, खिन, बदालकोटलगायतका गाविसमा लगाएको बर्खेे बाली खडेरीले सुकेर नष्ट भएपछि भोकमरीको समस्या भएको छ ।

त्यहीमाथि हिउँदे बाली लगाएर उम्रिन लाग्दा खडेरी परेपछि कृषक विभिन्न निकायमा धाउन थालेका छन् । जिल्लास्थित खाद्य संस्थान, सङ्घसंस्थालगायतका निकायमा सहयोगका लागि अनुरोध गरेका छन् । जिल्लाका पाँचवटा गाविसलाई भने सुक्खा क्षेत्र घोषणा गर्दै विश्व खाद्य कार्यक्रमले कामका लागि खाद्यान्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस वर्ष पनि जिल्लाका अन्य गाविसमा कामका लागि खाद्यान्न कार्यक्रम सुरु गर्नुपर्ने माग जिल्लावासीले गरेका छन् ।

जिल्लाका नानीकोट, बदालकोट, रकु, मान्मलगायतका गाविसका कृषकले बर्खेबाली सुकेको अवस्थामा जिप्रका कालीकोटमा धर्ना दिएका थिए । जिल्ला कृषि विकास कार्यालय, कालीकोटको मातहतमा खडेरीको अनुगमनका लागि स्थलगत अध्ययन टोली पठाइएको थियो ।

सो टोलीले गरेको अध्ययनअनुसार जिल्लामा बखे बालीमा ५४ प्रतिशत बढी उत्पादनमा कमी आएको प्रतिवेदन प्रस्तुत गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।