0 COMMENTS

काठमाडौं, २ पुस । उपत्यकामा सवारी जाम बढ्न थालेको छ । भारतबाट तस्करी भएर आउने इन्धनका कारण सडकमा सवारीसाधनको चाप बढेको हो ।
उपत्यकामा सवारीसाधनको संख्या सामान्य अवस्थातर्फ उन्मुख भइरहेको ट्राफिक प्रहरीले जनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी पोषराज पोखरेलका अनुसार सामान्य अवस्थाभन्दा करिब ७० प्रतिशत सवारीसाधन चलेका छन् । ‘कोटेश्वर, कलंकीजस्ता स्थानमा जाम हुन थालेका छन्,’ उनले भने, ‘सडकमा सवारीको चाप दिनप्रतिदिन बढ्दो छ ।’

पर्सा, चितवन, झापा, भैरहवालगायतका नाकाबाट तस्करी हुने इन्धनका कारण यसरी सवारीसाधनको संख्या बढेको हो । विभिन्न प्रहरी निकायबाट लिइएको तथ्यांकअनुसार उपत्यकामा मात्र दैनिक ५० हजार लिटर तस्करीको इन्धन भित्रने गरेको छ ।

प्रहरीले व्यक्तिगत प्रयोगजनका लागि ल्याइने इन्धनलाई छुट दिएको छ । कालोबजारीमा बिक्री गर्न ओसारपसार गरिएकोबाहेक अन्य इन्धन नरोक्न गृह मन्त्रालयले समेत निर्देशन दिएको स्रोत बताउँछ ।

तीन साताअघि प्रहरीले काठमाडौंमा प्रहरीले इन्धन तस्करीविरुद्ध अभियान चलाउँदै एकै दिन २५ हजार लिटरसम्म इन्धन बरामद गएको थियो । सो अप्रेसनपछि कालोबजारी धेरै कम भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रमसिंह थापाले बताए । ‘व्यक्तिगत प्रयोजनका लागि ल्याइएकाबाहेक अन्य इन्धन बरामद गरिरहेका छौँ,’ एसएसपी थापाले भने, ‘इन्धनलगायत सबै किसिमको कालोबजारीविरुद्ध हामी कडा छौँ ।’

प्रहरीले ठूलो परिमाणमा इन्धन बरामद गरेपछि कारोबारीहरू डराएका छन् । तर, पनि व्यक्तिगत प्रयोजन देखाएर तस्करीको क्रम भने रोकिएको छैन । स्रोतका अनुसार दूतावासहरूले समेत तस्करीकै इन्धन खरिद गर्न थालेका छन् । अमेरिकन दूतावासले गत शुक्रबार ठोरीबाट इन्धन किनेर ल्याएको थियो । प्रहरीलाई खबर गरेर उनीहरूले त्यसरी इन्धन ल्याएका थिए । धेरै इन्धन चाहिने संस्थाले प्रहरीलाई अग्रिम जानकारी दिएर तराईका जिल्लाबाट इन्धन ल्याउन थालेका छन् ।

सबैभन्दा धेरै तस्करी पर्साको ठोरी नाकाबाट हुने गरेको छ । यहाँ पेट्रोल लिटरको एक सय ५० देखि दुई सय ५० रुपैयाँसम्ममा खरिद बिक्री हुन्छ । काठमाडौंमा तस्करीको इन्धन न्यूनतम दुई सय ५० मा पाइने गरेको उपभोक्ता बताउँछन् । केहीले पाँच सय रुपैयाँसम्म लिने गरेका छन् ।

सामान्य अवस्थामा राजधानीमा करिब तीन लाख सवारीसाधन चल्दछन् । अहिले करिब दुई लाख २५ हजारको हाराहारीमा चलिरहेको स्रोत बताउँछ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।