0 COMMENTS

Orange-Palpaम्याग्दी, १ पुस । गतवर्ष सुन्तला बिक्रीबाट १५ लाख गाउँमा भित्र्याएका जिल्लाको भकिम्ली–५ राखुका किसान यसपटक निराश छन् ।

गत वर्ष मंसिर महिनामा सबै बगानको सुन्तला बिक्री गरेका राखुका किसानले यसपाली दुई ट्रक मात्र बेचेका छन् । तराई बन्द, इन्धन अभाव र भारतीय सुन्तलाले बजार ओगटेकाले जिल्लाभरका किसानलाई पिरोलेको छ ।

‘गत वर्ष मङ्सिरमै ११ ट्रक सुन्तला काठमाडौँ लगेर बिक्री गर्यौँ,’ राखुका किसान खिमबहादुर पुनले भने, ‘यसपाली दुई ट्रक सुन्तला बिक्री गर्न काठमाडौँमा आठ दिन बस्नुपर्यो ।’ कालीमाटीस्थित तरकारी तथा फलफुल बिक्री केन्द्रसम्म सुन्तला पुर्याउन र बिक्री गर्न समस्या परेको उनको भनाई छ ।

गतवर्ष सुन्तला नटिप्दै व्यापारी बगैँचामै सुन्तला खरिद गर्न आएका थिए । यसपाली किसान आफैँले गाउँमा सुन्तला सङ्कलन गरेर बजारसम्म पु¥याउन बाध्य छन् । जिल्लाको सुन्तलाको बजार सदरमुकाम बेनी, काठमाडौं, पोखरा र नारायणघाट हो । ‘महँगो भाडा तिरेर बजारसम्म पु¥याएको सुन्तला सस्तोमा बेच्नुपर्ने बाध्यता छ’ बास्कुनाका किसान तिलक गुरुङले भन्नुभयो, “भारतीय सुन्तलाले बजार ओगट्दा मर्का परेको छ ।’ भारतबाट आयात गरिएको सुन्तलालाई नेपालकै गोरखा, म्याग्दी, स्याङ्जा, पाल्पालगायतको भनेर बिक्री गर्ने गरेका छन् ।

बजारसम्म पुर्याउन नसक्दा सयौं किसानको सुन्तला बोटमै छ । गतवर्ष बजारमा पुर्याउँदा प्रतिकिलो ६५ का दरले सुन्तला बिक्री गरेका किसानले यसपाली प्रतिकिलो ५० भन्दा बढी मूल्य पाउन सकेका छैनन् । जिल्ला सुन्तला उत्पादक कृषक सङ्घका सचिव भेषनाथ गौतमकाअनुसार विगतका वर्षमा मङ्सिर महिनामा ६० प्रतिशत सुन्तला बिक्री भइसक्थ्यो भने यसवर्ष २० प्रतिशत पनि बिक्री हुन सकेको छैन ।

‘ढुवानीको साधन नपाउने र पाएपनि दोब्बर भाडा तिरेर बजारसम्म पुर्याउँदासमेत बिक्री नहुँदा किसान निराश छन्,’ उनले भने । रोगका कारण दाना झर्ने समस्याले किसान थप चिन्तित बनेका छन् । “गतवर्ष रु एक लाखको सुन्तला बेचेका थियौँ” भकिम्ली–५ राखुकी जसीकला रोकाले भने, ‘यसपाली ८० हजारमा व्यापारीलाई ठेक्का दिएका छौं ।’

जिल्ला कृषि विकास कार्यालयका अनुसार यसवर्ष दुई हजार ९०५ मेट्रिक टन सुन्तला उत्पादन हुने अनुमान गरिएको छ । जिल्लाभर ६८५ हेक्टरमा सुन्तला खेती हुन्छ । वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालकाअनुसार गतवर्ष दुई करोड ५० लाख मूल्य बराबरको ५३१ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । जिल्लाको दाना, भुरुङ तातोपानी, नारच्याङ, हिस्तान, पिप्ले, घतान, पात्लेखेत, भकिम्ली, सिङ्गा, बरङ्जा, अर्मन, देवीस्थान, बिम, ताकम र मुनालगायतका गाविसमा किसानले व्यावसायिक सुन्तला खेती गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।