0 COMMENTS

काठमाडौँ, २८ मङ्सिर । नेपालमा बदलिँदो जीवनशैली र फेरिएको खानपिनका कारण मधुमेहका बिरामी बढेसँगै आँखाका बिरामी पनि बढेकोे चिकित्सक बताउछन् ।

मधुमेहका रोगीलाई आँखाको समस्या हुने प्रवल सम्भावना रहन्छ । योसँगै आँखाको ज्योति गुमाउनेको सङ्ख्यामा समेत वृद्धि हुन थालेको छ । अहिले नेपालमा १० लाख मानिस मधुमेहबाट प्रभावित भएको अनुमान छ ।

चिकित्सकका अनुसार मधुमेहका बिरामीमा दुई गुणा बढी आँखाको समस्या हुने र त्यसको पच्चीसौँ गुणा बढी दृष्टिविहीन हुने खतरा हुन्छ । गर्भवती महिलालाई मधुमेह भएमा शिशुलाई पनि हुने खतरा बढी भएकाले ध्यान राख्न आवश्यक छ ।

वरिष्ठ रेटिना विशेषज्ञ डा ओके मल्ल भन्छन् –‘मानिसमा विलासिता बढेसँगै खानपानमा आएको परिवर्तनले नेपालमा कम उमेरका मानिसलाई समेत मधुमेह देखिएको छ, यो चिन्ताजनक विषय हो ।’ उनले मधुमेहका रोगीले समय समयमा आँखाको जाँच गराइरहन सल्लाह दिए ।

अन्तर्राष्ट्रिय मधुमेह सङ्गठनका अनुसार विश्वमा करिब पाँच प्रतिशत अन्धोपन मधुमेहका कारण हुने गर्दछ । नेपालमा मधुमेहका कारण १३ प्रतिशत अन्धोपन हुने गरेको छ ।

मधुमेहका कारण हुने अन्धोपन रोक्नका लागि देशव्यापी कार्यक्रम ल्याउनुपर्ने बताछन् नेपाल मधुमेह एसोसिएसनका उपाध्यक्ष प्रा डा मधुरदेव भट्टराई । उनले मधुमेहका कारण आँखाका रोगी बढेसँगै त्यसको उपचार गर्ने प्रविधि र दक्ष जनशक्तिको पनि अभाव हुन थालेको उल्लेख गरे ।
आँखामा आन्तरिक असर परे पनि बाहिरी लक्षण नदेखिने र विस्तारै दृष्टि धमिलो भई पछि उपचारबाट पनि दृष्टि फर्काउन नसकिने चिकित्सकको भनाइ छ ।

रगतमा अत्यधिक चिनीको मात्रा, उच्च रक्तचाप र चिल्लोको अधिकतम प्रयोग मधुमेहका प्रमुख कारण हुन् । यस्ता रोगी धुम्रपानबाट पनि टाडै बस्न चिकित्सकको सल्लाह छ ।

पाटन अस्पतालका डा बुद्धि पौडेल गर्भवती महिलालाई मधुमेह भएमा बच्चालाई हुने प्रवल सम्भावना भएकाले आउने पिढीको भविष्य अन्धकार हुनबाट बचाउन सरकारले आफ्नो स्वास्थ्य कार्यक्रममा यसका बारेमा प्रभावकारी जनचेतनामूलक कार्यक्रम ल्याउनुपर्ने धारणा राख्छन् । रासस

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।