0 COMMENTS

हाम्रो मृगौलाले सही किसिमले काम गर्न नसकेपछि थुप्रै समस्याहरु देखा पर्छन् । समयमा नै मृगौलाको अवस्था थाहा नपाउँदा मृगौलामा हुने क्षति पुर्ति गर्न निकै गा¥हो पर्छ । मृगौला बिग्रिएपछि शरीरमा भएका विकार तत्वहरु बाहिर आउन सक्दैनन् । मृगौला प्रत्यारोपण आफैमा चुनौतीपूर्ण रहेको छ । त्यसैले मृगौलाका बारेमा सही जानकारी राख्नु जरुरी हुन्छ । यहाँ हामीले मृगाौलाका बारेमा थाहा पाउनैपर्ने सूचना राखेका छौं । सबैभन्दा ठूलो कुरा यसका बारेमा सही सूचना राख्ने र शंका लाग्ने बित्तिकै मृगौला रोग विशेषज्ञकहाँ गएर आफ्नो अवस्थाबारे जाँच गर्नु जरुरी हुन्छ ।
पढ्नुस्, अर्जुन सेढाइले आफ्नो ब्लगमा उल्लेख गर्नुभएको जानकारीः

मृगौलाको बनावट

हाम्रो शरीरका बिभिन्न महत्वपूर्ण अंगहरु मध्ये मृगौला पनि एक हो । हाम्रो शरीरमा पेटको दायाँ बायाँ गरेर दुई वटा मृगौला बसेका हुन्छन् । मृगौलाहरु सिमीको आकारका हुन्छन् र यिनीहरुको लम्बाई १० से मी, चौडाई ५ से मी तथा मोटाई २.५ से मी हुन्छ । हरेक मृगौलामा ३ लाख देखि ९ लाख सम्म स-साना आँखाले नदेखिने नेफ्रोन नाम गरेका अंगहरु हुन्छन् र यिनको माध्यमबाट नै मृगौलाले आफ्नो कार्य सम्पादन गरिरहेको हुन्छ ।

मृगौला बिग्रनु भनेको के हो?

मृगौलाको मुख्य काम भनेको शरीरमा उत्पन्न हुने विकार जन्य पदार्थहरुलाई उत्सर्जन गरेर शरीरबाट बाहिर फाल्नु हो । शरीरमा उत्पन्न विकारहरुका साथ साथै शरीरमा बढी भएको पानीलाई शरीरबाट बाहिर फाल्नुका अलावा यसले शरीरमा पानी र लवणको मात्रा मिलाउने काम पनि गर्दछ। मृगौलाले आफ्नो काम राम्रोसँग सम्पादन गर्न नसकेर यी विकारजन्य पदार्थहरु शरीरमा जम्मा हुँदै जाने अवस्थालाई नै मृगौला बिग्रेको वा मृगौलाले काम गर्न नसकेको अवस्था भनेर भनिन्छ ।

मृगौला किन र कसरी बिग्रन्छ?

विभिन्न अचानक र दीर्घ रुपमा उत्पन्न हुने कारणहरुले मृगौलाको काममा असर पार्दछन् । मुटुको रोगले गर्दा राम्रोसँग मृगौलामा रगत पुग्न नसक्नु, झाडा पखाला लागेर वा अत्यधिक वान्ता भएर शरीरमा जल बियोजन हुनु, विभिन्न असाध्य रोगहरुले गर्दा शरीरभरी किटांणु फैलनु जस्ता कारणहरुले अचानक रुपमा मृगौलाको काम गर्ने क्षमतामा ह्रास उत्पन्न हुन्छ । दीर्घ कालिन रुपमा मृगौला बिग्रनु (Chronic Kidney Disease) को मुख्य र सबैभन्दा महत्वपूर्ण कारणहरुमा मधुमेह एक नम्बरमा पर्दछ । यसका अलावा उच्च रक्तचाप, जन्मजात रुपमा मृगौलामा पानीका पोका जम्मा हुने रोग (polycystic kidney disease), मृगौलामा नकारात्मक असर पार्ने विभिन्न औषधीहरुको लामो समयसम्मको सेवनको कारणले पनि मृगौलामा खराब असर पार्न गई अन्तत्वगत्वा मृगौला बिग्रन पुग्दछ ।

मृगौला बिग्रेमा के कस्ता लक्षणहरु देखिन्छन्?

मृगौलाले काम गर्न छाडेको अवस्थामा जीउमा विकारजन्य पदार्थहरु जम्मा हुँदै जाने हुँदा तत्कालै वा क्रमिक रुपमा बिभिन्न समस्याहरु देखिँदै जान्छन्। हात गोडा र पेट सुन्निनु, आँखा वरिपरिको भाग फुल्दै जानु, पिसाब काम लाग्नु, केही खान मन नलाग्नु, वाक्-वाक् लाग्नु वा वान्ता हुनु, फोक्सोमा पानी जाम्दै गएर श्वास प्रश्वासमा समस्या भएर सुत्दा वा पल्टँदा स्याँ-स्याँ हुनु आदि मृगौलाले काम गर्न नसक्नुका लक्षणहरु हुन्। कतिपय व्यक्तिमा मृगौला बिग्रन थालेको शुरुको अवस्थामा शरीरमा कुनै पनि लक्षण नदेखिन सक्छ र यस्तो अवस्थामा नियमित स्वास्थ्य परीक्षणको समयमा मात्र मृगौलाले सही कार्य सम्पादन गर्न नसकेको पत्ता लाग्दछ ।

मृगौला बिग्रेमा के गर्न सकिन्छ?

आफ्नो मृगौलामा समस्या देखिन थालेको वा यसले काम गर्न छाडेको शंका लागेमा वा पत्ता लागेमा सकेसम्म छिटो मृगौला रोग बिशेषग्य सँग परामर्श गरी उचित राय सल्लाह लिनु जरुरी हुन्छ । सम्बन्धित चिकित्सकले आवश्यक शारीरिक परिक्षण पश्चात् मृगौला रोग पहिचानका लागि केहि रक्त परीक्षण, पिसावको जाँच, पेटको अल्ट्रासाउण्ड, जस्ता परीक्षण गराउँछन् । यसका अलावा मृगौला रोगसँग सम्बन्धित केही बिशेष खालका जाँच जस्तै: kidney biopsyआदि पनि गराउनु पर्ने हुन सक्दछ ।

यी जाँच पड्ताल पश्चात् साँच्चै नै मृगौला बिग्रेको रहेछ भने सम्बन्धित मृगौला रोग बिशेषग्यको सल्लाह बमोजिम उपचार गर्नु गराउनु उपयुक्त हुन्छ । अचानक रुपमा मृगौला बिग्रेको अवस्थामा (Acute Kidney Injury भएमा) केही दिन वा हप्ता पश्चात् मृगौलाको काम पुर्ववत् रुपमा सुचारु हुन जान्छ तर क्रमिक रुपमा बिग्रेको (Chronic Kidney Disease भएको) मृगौलाको काम सामान्य रुपमा नफर्कन सक्छ र क्रमिक रुपमा मृगौलाले पुर्ण रुपले काम गर्न छाड्दछ । यसरी पुर्ण रुपले काम गर्न छाडेको अवस्थामा जम्मा दुई वटा मात्र विकल्प बाँकी रहन्छन् –

१) डायलाइसिस गराउने

२) मृगौला प्रत्यारोपण गराउने

यी दुवै उपचार पद्दतिका आ-आफ्नै सकारात्मक र नकारात्मक असरहरु रहन्छन् । मृगौला प्रत्यारोपण गराउनु सुरुमा केही खर्चिलो जस्तो लागे पनि व्यक्तिको सर्वाँगिण स्वास्थ्यको हिसाबले यसको फाइदा बढी नै हुन्छ तर पनि मृगौला दान गर्ने व्यक्ति र मृगौलाको छनौट, प्रत्यारोपण गराउँदा हुने शारिरिक समस्या, गराइ सकेपछि जिन्दगीभरि औषधी सेवन गरि रहनु पर्ने जरुरत, र मृगौला प्रत्यारोपण गराउन कुर्नु पर्ने लामो पर्खाई आदि जस्ता कारणहरुले गर्दा चाहँदा चाहँदै पनि कतिपय मृगौलाका बिरामिहरु यो सुबिधा लिन बाट बञ्चित हुन पुग्दछन् । यस्तो अवस्थामा डायलाइसिस नै एक मात्र उपचार विकल्प रहन्छ ।

डायलाइसिस भनेको के हो?

कुनै पनि कारणबश अचानक वा दीर्घ रुपमा हाम्रो शरीरको मृगौलाले काम गर्न छाडेको (kidney failure भएको) अवस्थामा शरीरमा जम्मा हुन पुग्ने विकारजन्य पदार्थहरुलाई मेशिनको सहायताले शरीरवाट बाहिर निकाल्ने प्रक्रियालाई नै डायलाइसिस भनेर भनिन्छ। मृगौलाले कुनै कारणवश काम नगरेको खण्डमा यो एक प्रकारको जीवन बचाउने उपचार प्रक्रिया हो, तर यसको माध्यमद्वारा सीधै मृगौलाको कुनै रोगको उपचार गर्न सकिँदैन ।

डायलाइसिसको महत्व

विश्व स्तरमै मृगौलाले काम गर्न छाड्ने अवस्था (End Stage Renal Disease) सँग सम्बन्धित समस्या दिन प्रतिदिन बढ्दो छ । अमेरिकामा मात्रै यी खालका बिरामीको संख्या लगभग ३ लाखको संख्यामा छ र यिनीहरुमध्ये ६५% बिरामीहरुको मात्र हेमोडायलाइसिसको सुबिधासंग पहुँच हुन्छ ।

एक अनुमान अनुसार, नेपालमा प्रति बर्ष २७ सय मृगौलाले काम नगर्ने बिरामीको संख्या थपिँदै जान्छ।

यस प्रकार मृगौलाले काम गर्न छाडेको अवस्थामा २ वटा विकल्प मात्र बाँकी रहन्छन्-

१) डायलाइसिस गरेर विकारजन्य पदार्थहरुलाई बाहिर फाल्ने वा

२) मृगौला प्रत्यारोपण गर्ने ।

मृगौला प्रत्यारोपण गर्ने सुबिधा हाल केही वर्ष देखि देशभित्र नै उपलब्ध हुन थालेको भए तापनि यसको प्रक्रिया धेरै जटिलपूर्ण भएको र त्यति सर्वसुलभ नभएको वर्तमान परिप्रेक्ष्यमा मृगौलाले काम गर्न छाडेको अवस्थाबाट गुज्रिरहेका बिरामीहरुको लागि डायलाइसिस नै जीवन बचाएर राख्ने एक महत्वपूर्ण उपचार पद्दति हो । विश्वमा पाहिलो सफल हेमोडायलाइसिस सुबिधा ई सं १९२४ मा शुरु भएको थियो ।

नेपालमा हेमोडायलाइसिस

– सर्वप्रथम मृगौला सम्वन्धि विशेषग्य सेवा बि सँ २०३० सालमा शुरु ।

– Peritoneal dialysis सेवा २०३० सालमा वीर अस्पतालमा शुरु भयो भने, पहिलो हेमोडायलाइसिस सेवा वीर अस्पतालमा नै बि सं २०४५ सालमा शुरु भयो ।

– शिक्षण अस्पताल महाराजगञ्जमा यो सेवा २०५३ सालबाट शुरु।

– हाल देश भरिमा ११९ वटा हेमोडायलाइसिस मेशिनबाट सेवा उपलब्ध छन्। जसमध्ये ९० वटा मेशिन काठमाण्डौ उपत्यकाभित्र मात्र सिमित र बाँकी २९ वटा मेशिनबाट मात्र देशका अन्य भागमा सेवा उपलब्ध छ।

मृगौला बिग्रनबाट कसरी बचाउने?

– जल वियोजनको समयमा उपचार तथा असाध्य अवस्था (sepsis) को समयमा उपचार गरेरअचानक रुपमा मृगौला बिग्रनबाट (Acute Kidney Injury) बचाउन सकिन्छ ।

– क्रमिक रुपमा मृगौला बिग्रन (Chronic Kidney Disease) बाट बचाउन निम्न लिखित उपाय अवलम्वन गर्नु जरुरी हुन्छ-

o मधुमेहको समयमा उपचार गर्ने र रगतमा चिनीको मात्रा मिलाएर राख्ने

o उच्चरक्तचापको समुचित उपचार गर्ने ।

o मृगौलालाई खराबी गर्ने दुखाई कम गर्ने खालका औषधीको सेवन नगर्ने ।

o मृगौलाको रोग लागेको शंका लागेमा सकेसम्म छिटो चिकित्सकको सल्लाह लिने ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।