मंसिर २६, २०७२- सरकारले पूर्वविशिष्ट पदाधिकारीहरू पूर्वराष्ट्रपतिदेखि पूर्वसभामुखसम्मलाई कानुनविपरीत आजीवन गाडी, इन्धन, चालक र स्वकीय सचिवालयका नाममा बर्सेनि अर्बौं रुपैयाँको सुविधा दिने तयारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई आजीवन विलासी सुविधा दिने व्यवस्थाका लागि प्रस्ताव सिफारिस गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।
गृहले कानुन र स्पष्ट मापदण्ड नबनाई पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिने निर्णयका लागि प्रस्ताव गर्न आनाकानी गरिरहेका बेला प्रधानमन्त्री कार्यालयले लिखित निर्देशन दिएको हो ।
प्रधानमन्त्री कार्यालयले प्रस्ताव गरेअनुसार पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिँदा बर्सेनि ३ अर्ब रुपैयाँभन्दा बढी खर्च हुने अनुमान छ । त्यति रकमले हरेक वर्ष २० मेगावाटभन्दा ठूलो जलविद्युत् आयोजना बन्छ । त्यति विद्युत्ले हरेक वर्ष २ घण्टाभन्दा बढी लोडसेडिङ घटाउन मद्दत पुग्नेछ ।
स्रोतका अनुसार गृहले कानुनी व्यवस्थाबिना पूर्वविशिष्ट पदाधिकारीलाई सुविधा दिने प्रस्ताव गर्न अस्वीकार गर्दै आएको छ । गृहको प्रस्तावबिनै सरकारले कानुनविपरीत पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वउपराष्ट्रपति परमानन्द झा र पूर्वसभामुख सुवास नेम्वाङलाई सुविधा दिइसकेको छ । यादवलाई विलासी गाडीसहित आवाससहितको सुविधा, पूर्वउपराष्ट्रपति झालाई २ करोड रुपैयाँभन्दा बढी मूल्यको गाडी र पूर्वसभामुख नेम्वाङलाई ६० लाख रुपैयाँको गाडीसहितको सुविधा दिइएको छ ।
यसअघि तत्कालीन गृहमन्त्री वामदेव गौतमको पालामा सरकारले पूर्वविशिष्ट पदाधिकारीलाई कानुन बनाएर आजीवन गाडी, इन्धन, मर्मत, चालक र स्वकीय सचिवालयसहितको आकर्षक सुविधा दिने प्रस्ताव गरी विधेयक संसद् सचिवालयमा पेस गरेको थियो । विधेयकको चौतर्फी विरोध भएपछि तत्कालीन सभामुख नेम्वाङले तत्कालीन गृहमन्त्री गौतमलाई पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिने विधेयक फिर्ता लिन दबाब दिएपछि सरकारले फिर्ता लिएको थियो । निवर्तमान सभामुख नेम्वाङले अहिले आएर पूर्वविशिष्ट पदाधिकारीको हैसियतमा ६० लाख रुपैयाँको विलासी गाडी सुविधा लिइसकेका छन्, जबकि सरकारको प्रस्तावमा पूर्वराष्ट्रपतिलाई ६० लाख, पूर्वउपराष्ट्रपतिदेखि पूर्वसभामुखसम्मलाई ५० लाख रुपैयाँबराबरको गाडी सुविधा दिने प्रस्ताव छ । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएकाले उनकै पार्टीका नेता नेम्वाङलाई ६० लाख रुपैयाँको गाडी खरिद गरी सुविधामा आजीवन चढ्न दिइएको हो ।
स्रोतका अनुसार पूर्वराष्ट्रपतिलाई आजीवन घरघाडा मासिक १ लाख ३० हजार, मासिक वृत्ति ५० हजार, स्टेसनरी खर्च मासिक २४ हजार, मर्मत खर्च २५ हजार रुपैयाँ तथा उपसचिव, नासु, चालक, भान्सेसहित चार जनाको स्वकीय सचिवालय सुविधा दिइनेछ । साथै पूर्वराष्ट्रपतिलाई इन्धन मासिक २ सय लिटर पेट्रोल उपलब्ध गराइनेछ । निवर्तमान राष्ट्रपति रामवरण यादवलाई १ लाख ३० हजार रुपैयाँको आवाससहित सचिवालयको सुविधा दिइसकिएको छ, अरू सुविधा दिन बाँकी छ । तर, कानुन नबनाइएकाले यादवलाई दिइएको सुविधा कानुनविपरीत छ ।
प्रधानमन्त्री कार्यालयको प्रस्तावमा पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई आजीवन घरभाडा ५० हजार, मासिक वृत्ति ४० हजार, स्टेसनरी खर्च १२ हजार, गाडी मर्मत खर्च २५ हजार तथा ५० लाख रुपैयाँसम्मको गाडी, इन्धन मासिक १ सय ५० लिटर र मोबिल खर्च दिइने उल्लेख छ । पूर्वउपराष्ट्रपतिदेखि पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखसम्मलाई स्वकीय सचिवालयमा शाखा अधिकृत, चालक/भान्से र कार्यालय सहयोगी गरी तीन जना दिने प्रस्तावमा उल्लेख छ ।
आजीवन विलासी सुविधा पाउनेमा पूर्वराष्ट्रपति यादव, पूर्वउपराष्ट्रपति झा, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, शेरबहादुर देउवा, सुशील कोइराला, माधवकुमार नेपाल, पुष्पकमल दाहाल, बाबुराम भट्टराई, झलनाथ खनाल, कीर्तिनिधि बिष्ट, खिलराज रेग्मी, तुलसी गिरीलगायत छन् । पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिलाई क्रमश: ६० लाख र ५० लाख रुपैयाँको गाडी सुविधामा दिने प्रस्तावमा उल्लेख भए पनि यादव र झालाई २ करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने ल्यान्डक्रुजर प्राडो गाडी चढ्न दिइएको छ । कान्तिपुर दैनिकमा खबर छ ।
– See more at: http://www.sajhapost.com/2015/12/12/26113.html#sthash.EWfzBcI9.dpuf