0 COMMENTS

Ranjeet-Rayकाठमाडौं, मङ्सिर २६ । मधेस आन्दोलनमा केन्द्रित देखिँदै गएको भारतीय दूतावासले अचानक नेपालको आर्थिक प्रगतिलाई मुख्य मुद्दा बनाएर आफ्नो दृष्टिकोणमा परिवर्तनको संकेत दिएको छ।

शुक्रबार राजदूत रञ्जित रेले आफ्नो निवासमा विभिन्न दलका नेतालाई दिएको भोजमा त्यस्तो दृष्टिकोण परिवर्तनको आभास दिएका हुन्।भोजका क्रममा राजदूत रेले नेपालका दर्जनौं राजनीतिक मुद्दालाई निकास दिँदै आर्थिक विकासमा जुट्न सुझाव दिएको अन्नपूर्ण पोस्टमा खबर छ ।
‘वैशाख १२ को भूकम्प र त्यसपछिका परकम्पबाट पुगेको क्षति एवं मधेसमा जारी आन्दोलनका कारण भएको क्षतिले नेपालको आर्थिक अवस्था धाराशायी हुँदै गएकाले सरकार र दलले राजनीतिक मुद्दालाई साता-दस दिनभित्रै छिनोफानो गरी नेपालको आर्थिक विकासमा जुट्न’ दलका प्रतिनिधिलाई सुझाएको स्रोतले जनाएको छ।
परराष्ट्रमन्त्री कमल थापा तथा मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेता भारत भ्रमणबाट फर्केको दुई दिन नबित्दै भारतीय दूतावासले शुक्रबार संविधानसभामा प्रतिनिधित्व गर्ने अधिकांश दलका प्रतिनिधिका लागि दिवाभोज आयोजना गरेको थियो।दिवाभोजमा कांग्रेस, एमाले, एमाओवादी, मोर्चा सम्बद्ध र साना दलको समेत प्रतिनिधित्व थियो। दिवाभोजमा उपस्थित सभासद्लाई रेले समूह र एक्लाएक्लै भेटेका थिए।
नेपाल अहिले अत्यन्तै संकटपूर्ण अवस्थामा पुगिसकेको भन्दै राजदूत रेले सहमतिमा मुलुकलाई निकास दिने वातावरण सिर्जना गर्न आग्रह गरेका थिए ।
उनले भारत सरकारले परराष्ट्रमन्त्री थापा र मोर्चाका चार शीर्ष नेतालाई पनि नेपालको आन्तरिक समस्याको समाधान राजनीतिक दल र तिनका कुशल नेतृत्वबाटै हुनुपर्ने मान्यता राखेको बताएका थिए।
‘लोकतान्त्रिक आन्दोलनदेखि आजसम्मका दर्जनौं राजनीतिक मुद्दामा निकास दिन नेपाल सक्षम छ। अहिले देखिएको समस्या समाधान गर्न पनि सरकार र विपक्षी दलले दिनरात मेहनत गरी साता-दस दिनभित्र टुंगोमा पुग्नुपर्ने हाम्रो सुझाव छ’, दिवाभोजमा सहभागी दलका नेतालाई राजदूत रेले सुझाव दिएको तराई मधेस लोकतान्त्रिक पार्टीका नेता अकवाल अहमद साहले भने।
राजदूत रेले समस्यालाई निकास दिँदा मधेस, पहाड र हिमाल नभएर नेपाल राष्ट्रका आधारमा अघि बढ्नुपर्ने धारणा राखेका थिए।एमाले वैकल्पिक पोलिटब्युरो सदस्य वंशीधर मि श्रले राजदूत रेले नेपालले अहिले भोगेको संकट र त्यसको निकासका बारेमा आफूहरूसँग परामर्श गरेको जानकारी दिए।
उनले भने, ‘नेपाल र भारत राजनीतिक रूपमा मात्र नभएर ऐतिहासिक, सांस्कृतिक र परम्परागत रूपमा समेत घनिष्ट रहेको औंल्याउँदै दुई देशका विविध मुद्दा र नेपालका राजनीतिक दलबीचको मुद्दालाई निकास दिनुपर्छ । यसका लागि राजनीतिक नेतृत्वले वार्ता र सहमतिलाई विशेष प्राथमिकता दिनुपर्ने धारणा राजदूतले राखे।’
कांग्रेस नेता आनन्दप्रसाद ढुंगानाले राजदूत रेले संविधान जारीदेखि मोर्चाको आन्दोलनसम्मको परिस्थितिबारे जिज्ञासा राख्दै नेपालको विकासतर्फ चासो राखेको जानकारी दिए।ढुंगानाले भने, ‘वार्ता र सहमतिबाट नेपालमा देखिएको राजनीतिक अवरोधबाट भारत निकास चाहन्छ भन्ने सन्देश दिवाभोजले दिन खोजेको पाएँ।’
स्वतन्त्र सांसद अतहरकमाल मुसलमानले दर्जनौं मुद्दालाई चाँडोभन्दा चाँडो निकास दिँदै मुलुकलाई अघि बढाउन रेले आग्रह गरेको बताए।दिवाभोजमा सहभागी एक सांसदका अनुसार दूतावासमा झन्डै दुई दर्जन सांसदलाई टेन्ट टाँगेर खानाको व्यवस्था गरिएको थियो।
भारतीय राजदूतावासको दिवाभोजमा उपसभामुख गंगाप्रसाद यादव, एमालेका सुरेन्द्र पाण्डे, वंशीधर मिश्र, नागेन्द्र चौधरी, एमाओवादीका रवीन्द्रप्रताप शाह, जनकराज जोशी, प्रभु साह, कांग्रेसका विमलेन्द्र निधि, आनन्दप्रसाद ढुंगाना, अमरेशकुमार सिंह, गणेश मण्डल, रामअयोध्याप्रसाद यादव, राप्रपा नेपालका दिलनाथ गिरी, राप्रपाका दीपक बोहोरा, संघीय समाजवादी फोरमका शिवजी यादव, सद्भावना पार्टीका लक्ष्मणलाल कर्ण र स्वतन्त्र सांसद अतहरकमाल मुसलमान उपस्थित थिए।
अन्नपूर्ण पोस्टबाट साभार

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।