0 COMMENTS

काठमाडौं, मङ्सिर २४ । महोत्तरीका विभिन्न सीमानाकामा अहिले तस्करीका लागि दैनिक एक हजारभन्दा बढी बालबालिका प्रयोग हुने गरेका छन् ।

जिल्लाको प्रमुख भन्सार नाका भिट्टामोड तथा सहायक सीमानाका मटिहानी, सम्सी, कट्टीकटैया, इटहर्वा, पोखरभिण्डा, रघुनाथपुर, खैरबनी, बथनाहालगायतका ठाउँमा दैनिक हजारभन्दा बढी बालबालिका सरसामान नेपाल–भारत ओसारपसारमा लागेको स्थानीय बासिन्दाले बताएका छन् ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अहिले भारतबाट सरसामान ल्याउन कडाइका साथ रोक लगाएपछि नेपाली व्यापारीले भारतीय सामान ल्याउन सीमानजिक बसोबास गर्ने बालबालिकालाई सामान ओसारपसारमा लगाएका हुन् । जिल्लाको मटिहानी सीमानाकामा मात्रै दैनिक ५०० को हाराहारीमा बालबालिका भारतीय सरसामान नेपाल ल्याउने काममा संलग्न रहेकोे स्थानीयवासीको दाबी रहेको छ ।

स्थानीयवासीले बालबालिका सीमानाका वा मानिस हिँड्डुल गर्ने ठाउँबाट नभएर गाई बाख्रा चराउने बहानामा अवैध तरिकाले वनको बाटो भएर भारतीय सामान नेपाल ल्याउने गरेको बताए ।

त्यस्तै जिल्लाका पोखरभिण्डा र रघुनाथपुरबाट पनि सयौँ बालबालिका दैनिक नजिकैको वनमा घाँस, दाउराको बाहाना बनाउँदै भारतीय सरसामान नेपाल ल्याउने गरेको स्थानीयवासी बताउँछन् । त्यस्तै सीमानाका सम्सी, बथनाहा, कट्टिकटैया र इटहर्वाका बालबालिका दशगजा क्षेत्रमा क्रिकेट, फूटबल लगायतका खेल खेलिरहेकै क्रममा भारतको बजारबाट सामान नेपाल छिराउने गरेको पाइन्छ ।

बालबालिका ठूलठूला व्यापारीजस्तो साइकल, मोटरसाइकल, जिप, ट्याक्टर, टायरगाडा वा अन्य ढुवानीको माध्यमबाट ठूलो माात्रामा नभई स–साना पोका बनाई हातमा वा टाउको बोकेर ल्याउने गर्दछन् ।

एक दिनमा एउटा बच्चाले दुईदेखि पाँचपटकसम्म थोरैथोरै गरी धेरै सरसामान ल्याउने गरेका छन् । उनीहरुले एउटा पोका ल्याएबापत १० देखि ५० रुपैयाँसम्म बालबालिकाको उमेर हेरेर दिने गर्दछन् । जिल्लाका सीमानाकामा बसोबास गर्ने धेरैजसोका बालबालिका त अहिले पढाइलेखाइ छोडेर पनि नेपाल भारत सरसामान तस्करीमा दिनभरि बिताउने गरेको प्रत्यक्षदर्शीहरु बताउँछन् ।

लामो समयको बन्द र हडतालका कारण मधेसका बालबालिकामा पढ्ने वातावरण बिग्रिएको र धेरै समय विद्यालय बन्द भएर पनि बालबालिका र तीन अभिभावकले पठनपाठनतर्फ बढी ध्यान नदिएको अधिकारर्मीहरुले बताएका छन् ।
रासस

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।