0 COMMENTS

डोल्पा , २१ मङ्सिर / नेपालका सबैजसो जिल्लामा मोटरबाटो पुग्दा डोल्पा सडक सञ्जालको सुविधाबाट वञ्चित रहेको छ । त्यसो त डोल्पालीहरु नुन, चामल, तेललगायतका दैनिक उपभोग्य वस्तुको पूर्तिका लागि खाद्य संस्थान र साल्ट ट्रेडिङ कर्पोेरेसनको भर पर्नुपर्छ । विश्वमा चमत्कारी रुपमा विकास भइरहेका बेला डोल्पाली भने सरकारले साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत उपलब्ध गराउने गरेको नुन, चामल पनि समयमै उपलब्ध नहुँदा मर्कामा परेका छन् ।

यहाँ हरेक वर्ष नुन चामललगायतका खाद्यान्नको अभाव हुने गर्छ । यस वर्ष डोल्पामा समयमै नुन उपलब्ध नहुँदा डोल्पालीका लागि नुन पाउनु सुनभन्दा कम नभएको स्थानीयवासीको भनाइ छ । डोल्पा भौगोलिक रुपमा विकट र भारतले लगाएको नाकाबन्दीका कारण बजारमा पनि नुनको अभाव भएको व्यापारीले बताउने गरेका छन् ।

साल्ट ट्रेडिङ कर्पोरेसन डोल्पाले समयमै नुन उपलब्ध नगराउँदा कतिपय व्यापारीले नुनको कृत्रिम अभाव सिर्जना गरी भएको नुनलाई प्रतिपोका रु १०० भन्दा बढी लिने गरेकाले डोल्पालीलाई सुनभन्दा नुन पाउन गाह्रो भएको स्थानीयवासी लोकमान श्रेष्ठले बताउनुभयो ।
हामी शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार र विद्युत्लगायतका आधारभूत आवश्यकताबाट पनि वञ्चित छौँ श्रेष्ठले भन्नुभयो ।

सरकारले प्रतिपोका रु १० अनुदानमा उपलब्ध गराउँदै आएको नुन पनि लामो समयदेखि वितरण नगरिएकाले डोल्पामा नुनको हाहाकार भएको छ । विभिन्न बहानामा ठेकेदार र साल्ट ट्रेडिङ डोल्पाको लापर्बाहीका कारण हरेक वर्ष डोल्पामा नुनको अभाव हुने गर्छ । नेपालमा जति संविधान बने पनि ऐन नियम लागू भए तापनि विकासको कुरा त परै जाओस् सुखसँग नुन खान पनि पाइँदैन श्रेष्ठले भन्नुभयो – “गुणस्तरीय शिक्षा लिन नपाउँदा राज्यको हरेक निकायमा डोल्पाली कर्मचारीहरुको उपस्थिति नगन्य मात्रामा रहेको छ ।”

बीस तिस वर्ष अगाडि नुन लिनलाई उपल्लो डोल्पामा जानुपथ्र्यो । चौँरीले ल्याएको नुन तल्लो डोल्पामा बेच्न ल्याइन्थ्यो र वस्तुसँग साटासाट गरी एकअर्काका आवाश्यकता पूरा गरिन्थ्यो आयोडिन नभए पनि नुनको आवश्यकता पूरा हुन्थ्यो यसरी नुनको हाहाकार हुन्थेन स्थानीयवासी प्रमानन्द देवकोटाले भन्नुभयो ।

यसरी सरकारले महिनाँैपछि उपलब्ध गराएको एक दुई किलो नुन लिन पनि घन्टौँ हिँडेर सदरमुकाम पुग्नुपर्ने र तीन चार दिन लाइनमा बसेर पनि खालीहात फर्किनुपर्ने डोल्पालीको बाध्यता छ – देवकोटाले भन्नुभयो । डोल्पामा नाकाबन्दीका कारण नुन, चामललगायतका खाद्यान्न आउन छाडेपछि घरमा नुनको अभाव भएको स्थानीयवासी दिलीप गिरीले बताउनुभयो ।

राजनीतिक दल तथा कर्मचारीतन्त्रको लापर्बाही, मान्छेअनुसार गर्ने व्यवहार तथा अनियमितताका कारण हरेक वर्ष डोल्पामा नुनको अभाव हुने अधिकांश सरोकारवालाको बुझाइ रहेको छ । डोल्पा पनि नेपालकै एक टुक्रा भएकाले सरकारले विकेन्द्रीकरणको माध्यमबाट विकास गरी सर्वप्रथम डोल्पालीको आधारभूत आवश्यकता पूर्ति गर्न लाग्नुपर्ने देखिन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।