नयाँ दिल्ली, २१ मंसिर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेता महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र महेन्द्र राय यादवले सुरुमा १२ बजे तुगलग रोड–७ स्थित जनता दल युनाइटेडका अध्यक्ष शरद यादवलाई भेटेका थिए ।
एक घन्टाको भेटवार्तामा मधेसी नेताले नयाँ संविधानमा आफ्ना मतभेद राखेर कुरा सुरु गरे । नागरिकता, निर्वाचन क्षेत्र निर्धारण, समानुपातिक समावेशी प्रतिनिधित्व र प्रदेशको सीमांकनका विषयलाई लिएर तराईलाई विभेद गरिएको ब्रिफिङ गरेपछि यादवले सोधे, ‘नाका अवरोध किन ?’ मोर्चा नेताले अन्य विकल्पबाट समाधान नभएपछि र सरकारले नसुनेपछि बाध्य भएर नाका अवरोध गरेको जवाफ दिएका थिए ।
स्रोतका अनुसार जेडियू अध्यक्ष यादवको भनाइ थियो, ‘यो नेपालको आन्तरिक मामिला भएकाले उतै बसेर सुल्झाउनुस्, मधेसीहरूमाथिको विभेद हट्नुपर्छ, यसमा हामी तपाईंप्रति सहानुभूति राख्छौँ । तर, नेपालभित्रै बसेर समाधान खोज्नुपर्छ ।’
भेटमा सहभागी जेडियू नेता केसी त्यागीले मधेसीहरूको ब्रिफिङपछि आफूले एमाआवादी अध्यक्ष प्रचण्डसँग कुरा गरेको बताए । उनले भने, ‘मधेसको मुद्दा समाधान गर्नुपर्छ भन्नेमा हामी एक छौँ, यो कुरा भनेको पनि छु, तर यसलाई बहाना बनाएर आपूर्तिमा अवरोध पुर्याउने कुरामा हाम्रो असहमति छ ।’ नयाँ पत्रिका दैनिकमा खबर छ ।