0 COMMENTS

UCPNM-CC-Mettingकाठमाडौं, २० मंसिर । एकीकृत नेकपा माओवादीको जारी केन्द्रीय समितिको बैठकमा पार्टीका महासचिव कृष्णबहादुर महरालाई अख्तियारले छानबिन गर्न काटेको पत्रबारे कुनै चर्चा भएन । बैठकमा महरा स्वयम् सहभागी थिए ।

अख्तियारले २९ जना विशिष्ठ व्यक्तिहरुलाई छानबिनको लागि पत्र काटेपछि यसले जनमानसमा नयाँ तरंग उठेको छ । जसमध्ये एमाओवादी सम्बद्ध चार नेताहरु परेका छन् । छानबिनको लागि चिठी पाउनेमा एमाओवादी महासचिव कृष्णबहादुर महरा, सभासद तथा प्रहरीका पूर्व आइजिपि रविन्द्रप्रताप शाह, विवादास्पदक पृष्ठभूमिका ल्हारक्याल लामा र एमाओवादी कोटाबाट चुनावी सरकारमा प्रतिनिधित्व गर्ने रामकुमार श्रेष्ठ रहेका छन् ।

महासचिव महरा सञ्चारमन्त्री भएको बेला केही विवादास्पद निर्णयहरु भएको भन्दै नेपाली कांग्रेसले आवाज उठाउँदै आएको थियो । उनको कार्यकालमा दुरसञ्चार लाइसेन्स वितरणमा अनियमितता गरेको भन्दै प्रश्न उठ्ने गरेको थियो । महराले व्यावसायी अजय सुमार्गीको लगानी रहेको नेपाल स्टोलाइट प्राइभेट लिमिटेड कम्पनीलाई दुरसंचार लाइसेन्स दिँदा अनियमितता गरेको अख्तियार स्रोतको दावी छ । दूरसंचार प्राधिकरणभित्र पनि लाइसेन्स वितरणमा अनियमितता भएको प्रश्न उठेको छ । अहिले हेलो नेपाल नामक टेलिफोन कम्पनी सुमार्गीले त्यही लाइसेन्सबाट चलाएका छन् ।

एमालेभित्र यसले तरंग सिर्जना गरेको छ । एमालेका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अख्तियारको कदमलाई राजनीतिबाट प्रभावित काम भन्दै यसप्रति कडा आपत्ति व्यक्त गरेका छन् ।

तर एमाओवादीको केन्द्रीय समितिको बैठकमा धारणा आइतबार धारणा राख्ने १३ जना नेताहरुले यसबारे एक शब्द पनि उच्चारण गरेनन् । उनीहरुले पार्टीले वर्गीय राजनीति छाडेर अन्यत्रै लागेका, पार्टीभित्र विभिन्न खालका विकृति भित्रिएको, पार्टीको ‘चेन अफ कमान्ड’मा समस्या आएको भन्दै तत्काल सुधार गर्न माग गरे ।

बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको दस्तावेजमाथि धारणा राख्दै पार्टीका नेता लिलामणि पोखरेलले देशमा सामन्तवादको उपरिसंरचना ध्वस्त भए पनि तलको अवस्था जस्ताको त्यस्तै रहेको भन्दै यसलाई ध्वस्त पार्नु नै अबको कार्यभार रहेको चर्चा गरे । तर उनले कमल थापासँगको गठबन्धनको बारेमा कुरा गरेनन् ।
अर्का केन्द्रीय सदस्य अजय शंकर नायकले मधेसबाट कम्तीमा दुईजना मन्त्री बनाउनुपर्ने माग राखे । उनले पहाडमा भन्दा तराईमा बढी राष्ट्रवाद रहेको भन्दै पार्टीमा यसबारे भ्रम रहेको जिकिर गरे ।
नेता धर्मप्रसाद देवकोटा बाबुराम गएपछि पहिलोचोटि प्रचण्डले स्वतन्त्रपूर्वक र राम्रोसँग निर्णय गर्न पाएको भन्दै खुसी व्यक्त गरे । नेता सन्तोष पौडेलले पार्टीमा अझै पनि गणेश प्रवृत्ति रहेको भन्दै यसलाई नतोडेसम्म पार्टी बन्न नसक्ने बताए । अर्का केन्द्रीय सदसय बोधमाया यादवले मधेसका नेतालाई अवसर नदिइएको भन्दै गुनासो व्यक्त गरिन् ।

नेता रामकुमार राईले आन्तरिक राष्ट्रिय बलियो भएमा मात्र बाह्य हस्तक्षेप कम हुने भन्दै पहिला आन्तरिक राष्ट्रियता बलियो बनाउनुपर्नेमा जोड दिए ।

संविधानसभाले संविधान जारी गर्नु सफलता भए पनि सबै वर्ग तथा क्षेत्रले अधिकार प्राप्त गर्न नसकेको, तराई मधेसको आन्दोलनलाई सम्बोधन गर्नुपर्ने, सङ्घीय राज्य निर्माणमा देखिएको समस्या समाधान गर्न पार्टीले पहल गर्नुपर्नेमा जोड दिइएको थियो ।

आधुनिक प्रविधि, वैदेशिक रोजगार तथा अन्य कारणले समाजमा फरक–फरक वर्गको उत्थान भएको भन्दै त्यसलाई हेर्ने दृष्टिकोणसमेत परिवर्तन गर्नुपर्नेमा केही नेताहरुले जोड दिएका थिए ।

पछिल्लो दिनमा मुलुकको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता सङ्कटमा परेको भन्दै केही नेताले त्यसलाई प्रस्ट पार्नुपर्ने, अध्यक्ष दाहालको प्रतिवेदनमा ती विषय थप गर्नुपर्ने मत राखेका बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए ।

समावेशी, समानुपातिक विषय उठाउने र त्यसलाई स्थापित गर्ने पार्टीले वर्तमान सरकारमा थारू, दलितलाई समावेश नगरेकामा केही नेताले आपत्ति प्रकट गर्दै सच्याउनुपर्ने विचार राखेका थिए ।

यस्तै पार्टीलाई नयाँ आधारमा अगाडि बढाउनुपर्ने, एमाओवादी नै नयाँ शक्ति भएकाले नयाँ योजना र कार्यक्रम ल्याएर जनतामा उत्साह थप्नुपर्ने समेत केन्द्रीय सदस्यहरुको जोड थियो ।

आजको बैठकमा धर्मदत्त देवकोटा, पूर्णा सुवेदी, हकिकुल्ला खाँ, प्रल्हाद बुढाथोकी, दिपेन्द्र पुनलगायतले अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदनमाथि टिप्पणी गरेका थिए । बैठक सोमबार पुनः बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।