मङ्सिर १८, काठमाडौं । सरकारबाट बाहिरिनु परेको, राज्यको सबै उच्च ओहोदाको पद गुमाएको र गुटै गुटको फन्दामा नराम्ररी फसेको नेपाली कांग्रेसभित्र महाधिवेशनको औपचारिक प्रक्रिया शुरु नहुँदै मारामार शुरु भएको छ ।
शारीरिक रुपमा अशक्त भए पनि क्यान्सरलाई पराजित गरेको हौवा फिजाएर पुनः पार्टी सभापति हुने मक्सद राखेका सुशील कोइराला रामचन्द्र पौडेल र शेरबहादुर देउवालाई कुनै पनि हालतमा अगाडि बढ्न नदिने खेलमा लागेका छन् ।
त्यसका लागि उनले शशाङ्क र शेखर कोइरालालाई अगाडि सारेका छन् । त्यस्तै नरहरि आचार्य र महेश आचार्यलाई पनि उनले पौडेल र देउवालाई रोक्ने हत्कण्डा तयार पार्न लगाएका छन् । देउवा र पौडेलको रणनीति पत्ता लगाउन र उनीहरूलाई कसरी कर्नरमा पार्न सकिन्छ त्यो पत्ता लगाउन अह्राएका छन् कोइरालाले ।
यस्तै उनले महामन्त्रीमा शशाङ्कलाई अगाडि सार्ने योजना समेत बनाएका छन् । संस्थापन पक्षमा राम्रोसँग मारमुङ्ग्री चल्ने भएपछि यस पटक आफू बहुमतले सभापतिमा निर्वाचित हुने मक्सद देउवाको रहेको छ ।
उनी यसपटक कोइराला खेमाका मान्छे तानेरै भए पनि सभापति हुने ध्याउन्नमा लागेका छन् । तर देउवाका लागि भ्रष्टाचारी खुमबहादुर खड्का टोक्नु र बोक्नु भएका छन् । उनले महामन्त्रीमा अर्जुननरसिंह केसीलाई अगाडि सार्ने तयारी गरेका छन् ।
यस्तै महामन्त्री भएका प्रकाशमान सिंहलाई कार्यकारी उपसभापति दिने आश्वासन दिएर आफ्नो पक्षमा पार्ने योजना बनाएका छन् । यस्तै पूर्णबहादुर खड्कालाई कुन पद कसरी दिने भन्ने भेउ उनले आजसम्म पाएका छैनन् ।
खड्काले महामन्त्री नदिए देउवा गुट परित्याग गर्ने धम्की दिएका छन् । खुमबहादुरको बलमा सभापति जित्ने मक्सद राखेको भए पनि देउवाका लागि त्यो गतिलो अस्त्र भने सावित हुने अवस्था छैन ।
संस्थापन पक्षका नेता चोर्दा आफ्नो पक्षमा लाग्दै आएका गोपालमान श्रेष्ठ, बालकृष्ण खाँड, एनपी साउदलाई कुन कुन पद दिएर फकाउने भन्ने कुराको कुनै भेउ देउवाले पाएका छैनन् । तर जसरी भए पनि यसपटक सभापति उछिट्याउने उनको योजना रहेको छ ।
आफूलाई भारतको साथ रहेको, कोइरालालाई पार्टी नेता तथा कार्यकर्ताले भारतीय भनेको, नाकाबन्दी पनि उनै प्रधानमन्त्री हुँदा शुरु भएको जस्ता आरोपका कारण पनि आफू स्वतः सभापति हुने देउवाको चाहना छ ।
उता पिंध नभएका लोटा जस्ता रामचन्द्र पौडेल पनि अनामनगरमा सम्पर्क कार्यालय खोलेर आफू यसपटक जसरी भए पनि पार्टी सभापति हुने भन्दै पत्रकार बोलाएर चिया खुवाउन शुरु गरिसकेका छन् । -जनआह्वान साप्ताहिक