0 COMMENTS

काठमाडौं, १२ मंसिर । सुत्केरी भएपछि हुनसक्ने सम्भावित रक्तश्राव रोक्न प्रयोग हुने औषधि अक्सिटोसिनको देशैभर अभाव देखिएको छ । यो औषधि सुत्केरी व्यथा लगाउन पनि प्रयोग हुन्छ । देशभर दैनिक करिब दुई हजार महिला सुत्केरी हुने गर्छन् ।

ती सबैलाई अक्सिटोसिन औषधि दिनैपर्ने हुन्छ । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था महाशाखका अनुसार केही समयअघि राष्ट्रसंघीय नियोग युएनएफपिएले दिएको करिब १० हजार भाइल अक्सिटोसिन विभिन्न जिल्लामा वितरण भएको छ । तर, त्यो औषधिको परिमाण निक्कै कम भएको महाशाखाको भनाइ छ ।

‘त्यो औषधिले केही दिनलाई काम चल्छ, धेरै दिन पुग्दैन,’ महाशाखाका निर्देशक डा. भीम टिंकरीले भने । उनले भारतबाट औषधि आउन नसकेको र अन्य देशबाटै ल्याउनुपर्ने अवस्था भएकाले फेरि पनि दातृ निकायलाई गुहार्नुको विकल्प नभएको बताए ।

‘सरकारसँग भएको पनि सकिँदै गएको अवस्था छ । बजारमा पनि खास पाइएको छैन,’ उनले भने, ‘तत्काल ल्याउने पहल गरिरहेका छौँ ।’ डा. टिंकरीले सबै सुत्केरीलाई चलाउनुनपर्ने भएकाले युएनएफपिएसँग लिएको औषधिले केही दिन काम चल्ने बताए ।

तर, प्रसूतिगृह अस्पतालका निर्देशक एवं वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. जागेश्वर गौतमले सबै सुत्केरीलाई कम्तीमा एक भाइल अक्सिटोसिन दिनैपर्ने बताए । उनले भने, ‘यो औषधिको दोहोरो काम हुन्छ । सुत्केरी नहुँदै व्यथा लगाउन पनि प्रयोग हुन्छ र सुत्केरी भइसकेपछि धेरै रक्तश्राव नहोस् भन्नका लागि साल नझर्दै सुत्केरीलाई दिइन्छ ।’ नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।