मंसिर ११, काठमाडौं । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सुनसरीको हरिपुर ७ स्थित भन्टाबारीको पूर्वी टोलमा प्रवेश गरेर चार नेपालीमाथि गोली प्रहार गरेको घटनामा एसएसबीले आन्तरिक छानबिन सुरु गरेको छ।
भारतको बिहारमा बिहीबार सुनसरीका सुरक्षा अधिकारी र एसएसबीका उच्च अधिकारीबीच भएको छलफलमा एसएसबीले यस्तो जानकारी दिएको हो। छलफलमा सुनसरीका प्रमुख जिल्ला अधिकारी रविराज पन्थ, सुनसरीका प्रहरी प्रमुख एसपी सञ्जयराज शर्मा, सशस्त्र प्रहरीका एसपी जयराम खड्का र राष्ट्रिय अनुसन्धानका नायब निर्देशक नरेन्द्र दाहालको टोली र एसएसबीको वीरपुरस्थित कार्यालयका आईजीपी एके सिंह सहभागी थिए।
छलफलमा सिंहले नेपालमा एसएसबीका जवानले गरेको गोलीकाण्डलाई गम्भीररूपमा लिइएको र आन्तरिक छानबिन सुरु भएको जानकारी गराएको पन्थले बताए। उनका अनुसार एसएसबीले आन्तरिक छानबिन गरी नयाँदिल्लीस्थित हेडक्वार्टरमार्फत घटनाको विस्तृत विवरण भारत सरकारलाई बुझाएर कानुनी कारबाही अगाडि बढाउने आश्वासन दिएको छ ।
-अन्नपूर्ण पोस्ट दैनिक