काठमाडौं, ८ मंसीर । छिमेकी मुलुक भारतले नेपालमाथि गरेको नाकाबन्दीको विरुद्ध चलचित्रकर्मी ले जागरण अभियानको थालनी गरेका छन् । मंगलबार दिउँसो शान्तिवाटीकाबाट सुरु भएको कलाकारको जागरण र्याली भद्रकाली, न्यूरोड हुँदै जमल पुगेर टुंगिएको थियो । नाकाबन्दीविरुद्ध नाराबाजी गर्दै कलाकारहरुले सार्वभौम मुलुकको स्वाधिनता र अधिकारमाथि हस्तक्षेप नगर्न भारतीय पक्षलाई चेतावनी दिएका छन् । हाल जारी ‘अमानवीय’ नाकाबन्दी तत्काल खोल्नुपर्ने भन्दै कलाकारहरुले स्वाभिमानी नेपालीको स्वतन्त्रता कुन्ठित नगर्न समेत खबरदारी गरेका हुन् । कलाकारहरुको जुलुसमा चलचित्रका पुराना कलाकारदेखि सांगीतिक क्षेत्रका कलाकर्मी, निर्देशक, निर्माता, प्राविधिक लगायतको उपस्थिती रहेको थियो । आजको र्यालीमा बसुन्धरा भुसाल, भुवन चन्द, करिश्मा मानन्धर, लक्ष्मी गिरी, दीपाश्री निरौला, दिपकराज गिरी, रेजिना उप्रेती, सिताराम कट्टेल, कुञ्जना घिमीरे, हरिहर शर्मा, रमेश बुढाथोकी, कोमल वली लगायत उपस्थित थिए । राष्ट्रको पिडामा चुप लाग्न नसकेका कारण सडकमा ओर्लिएको उनीहरुको प्रतिक्रिया थियो ।
प्रतिक्रिया दिनुहोस्