मंसिर ५, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले नेपाल-भारत सीमा नाकामा भइरहेको अवरोध तत्काल हटाउन आग्रह गरेका छन् ।
स्वतन्त्र पारवहन नेपालको अधिकार भएको भन्दै महासचिव मुनले सीमा नाकाबाट भइरहेको अवरोधप्रति चिन्ता गरेको उनका प्रवक्ताद्वारा जारी वक्तव्यमा जनाइएको छ । मुनले नेपाल-भारत सीमामा रहेको अवरोध तत्काल हटाउन र औषधिलगायतका अत्यावश्यक सामान आयात नियमित गर्न आग्रह समेत गरेका छन् ।
जारी विज्ञप्तिमा भनिएको छ- ‘औषधिजस्तो अत्यावश्यक वस्तुको आयातमा भएको अवरोधका कारण मानवीय सहायता तथा उपचारमा नै समस्या परेकोप्रति महासचिव मुन चिन्तित हुनुहुन्छ ।’ महासचिव मुनले वार्ता र संवादको माध्यमबाट समस्याको समाधान खोज्न सबै पक्षसँग आग्रह गरेका छन् । लोकतान्त्रिक, समावेशी, शान्तिपूर्ण एवं सम्वृद्ध भविश्व निर्माणको प्रयासमा राष्ट्रसंघले नेपाललाई समर्थन गर्ने महासचिव मुनको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।