काठमाडौं, ३ मंसिर । तराई–मधेसमा जारी आन्दोलन सम्बोधन गर्न सत्तारूढ दलसँग स्पष्ट धारणा नभएको भन्दै कांग्रेसले वार्तामा नबस्ने निर्णय गरेको छ । कांग्रेसको पदाधिकारी बैठकले ‘हचुवाको भरमा’ वार्तामा नबस्ने निर्णय गरेको हो । मोर्चासँग निर्णायक भनिएको बुधबारको बैठकमा पनि कांग्रेस अनुपस्थित रह्यो ।
समस्या समाधानबारे सत्तारुढ दलकै धारणा स्पष्ट नभएको तथा औपचारिक रूपमा वार्ताको जानकारी नआएको कांग्रेस प्रवक्ताको भनाइ छ । ‘वार्ता हुनेबारे औपचारिक जानकारी भएन । प्रतिपक्षीलाई बोलाउने प्रक्रिया पनि पूरा गरिएन,’ प्रवक्ता दिलेन्द्रप्रसाद बडूले नयाँ पत्रिकासँग प्रश्न गरे, ‘निर्णायक वार्ता हुने भनेर सञ्चारमाध्यमबाट थाहा पाएको हो, कसले, कहाँ र कसरी वार्ता गर्ने भन्ने जानकारी नभई वार्ता गर्न कहाँ जानु ?’ उनले समस्या समाधानका लागि सत्तापक्षको समान धारणा नभएकाले पनि वार्तामा सहभागी हुन असहजता आएको बताए । ‘पदाधिकारी बैठकमा यो विषयमा गम्भीर छलफल भयो,’ उनले भने, ‘सत्तारुढ दलभित्रै किचलो देखिएका वेला हचुवाको भरमा वार्तामा बस्नुको औचित्य छैन भन्ने समीक्षा भएको छ ।’
प्रवक्ता बडूले कसरी समस्या समाधान गर्ने भन्नेमा सरकार द्विविधामा देखिएको बताए । बैठकमा कार्यबाहक सभापति रामचन्द्र पौडेलले एमाओवादी अध्यक्ष प्रचण्ड वा अरू कुनै पनि नेताबाट सीमांकनका विषयमा केही पनि प्रस्ताव नआएको जानकारी गराएका थिए । ‘सीमांकनबारे छलफल भएकै छैन । एमाले, एमाओवादी कसैले पनि हामीसँग कुरा नै गर्नुभएको छैन,’ पौडेलको भनाइ उद्धृत गर्दै प्रवक्ता बडूले भने, ‘सञ्चारमाध्यममा सीमांकनमा कांग्रेसका नेता सकारात्मक भन्ने कुरा आए, तर छलफल भएर त्यस्तो सहमति भएकै छैन । यो गलत प्रचार हो, यसमा सत्यता छैन ।’ नयाँ पत्रिका दैनिकमा रमेश सापकाेटाले खबर लेखेका छन् ।