काठमाडौं, २७ कात्तिक । मधेसी मोर्चासँग वार्ता गर्न प्रमुख दलका शीर्ष नेताहरुको रहेका उच्चस्तरीय नयाँ संयन्त्र बन्ने भएको छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस सहितको सहभागितामा प्रमुख दलका नेताहरु रहेको उच्चस्तरीय सयन्त्र गठन गरेर तिहारलगत्तै मधेसी मोर्चाले उठाएका मागमा विषयमा छलफल हुने भएको छ ।
नेपाली कांग्रेस सहमत भए एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको उच्चस्तरीय राजनीतिक समितिलाई विस्तार गर्ने कांग्रेस सहमत नभए नयाँ सयन्त्र बनाउने सत्तासिन दलको तयारी छ । प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डबीच सहमति भइसकेको सरकार एकजना उच्चमन्त्रीले जानकारी दिए ।
उनका अनुसार संयन्त्रमा मधेसी मोर्चाका तर्फबाट दुईजनालाई सहभागी गराउनेगरी प्रस्ताव गरिनेछ । यसैबीच सरकारले गठन गरेको वार्ता समितिले पनि तिहारको भोलिपल्ट मोर्चासँग वार्ता गर्ने भएको छ ।
सरकारका प्रवक्ता एवं सुचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले तिहार र छठ पर्वलगत्तै मधेसी मोर्चासँग नयाँ चरणको वार्ता गरेर समझदारीमा पुगिने विश्वास व्यक्त गरे । उनले आइतबार वा सोमबार वार्ता हुने जानकारी दिए ।