0 COMMENTS

काठमाडौ , कार्तिक २४। नेपालकालागि भारतीय राजदुत रञ्जित रेले नेपालको मन्त्री परिषदले पास गरेको विषेश प्रस्तावको विषयमा औपचारिक रुपमा आफूलाई प्राप्त नभएको भन्दै प्राप्त भए त्यसलाई गंभिरताका अगाडि बढाउने बताएका छन ।रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ सरकारले विशेष प्रस्ताव पास गरेको कुरा मैले पनि पत्रपत्रिकाबाट थाहाँ पाए । सरकारको प्रस्ताव मैले औपचारिक रुपमा पाएको छैन । दिपकुमार उपाध्यायजीले पाएर दिल्लीमा अगाडि बढाएको भए मलाई जानकारी छैन । मलाई औपचारिक रुपमा सरकारले दिए त्यसलाई गंभिरताका साथ अगाडि बढाउँछु ।’
क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा राजदुत रेले एकदुई दिनमा नेपाल भारत नाका सहज हुने भनि आएको समाचारलाई हल्ला र अनुमान भन्दै वीरगञ्ज नाका सहज नभईकन नेपालमा आपूर्ति सहज नहुने स्पष्ट पारे ।
उनले भने,‘ नेपालमा धेरै हल्ला र अनुमान चल्छ । नेपालमा ७० प्रतिसत आपूर्ति वीरगञ्ज नाकाबाट हुन्छ । अरु बाँकी नाकाबाट जति आपूर्ति गरे पनि यहाँको अवस्था सहज हुँदैन । अरु नाकाबाट रि रुट गरेर पठाउने प्रयास भईरहेको छ । नेपाललाई तेल दिने मेन डिपो रक्सौलमा भएकोले अरु नाका सहज भए पनि आपूर्ति सहज हुँदैन ।’ उनले सत्य भए पनि झुठो भए पनि नेपालमा समाधान गर्नु पर्ने केही मुद्दाहरु रहेकोले त्यसलाई बार्ता र संबादको बाटोबाट छिटो हल गर्नु पर्ने भन्दै अहिलेको समस्या लामो समयसम्म जान नहुने धारणा राखे ।
राजदुत रेले जेनेभा मानवअधिकार सम्मेलनमा भारतले मानवअधिकारको विश्वब्यापी मान्यता अनुरुपको नेपालको सत्य निरुपण तथा मेलमिलाप आयोगको कुरा उठाईएको भन्दै यसलाई नेपाल भारत सम्बन्धको नयाँ प्रस्थान विन्दुको रुपमा बुझ्न नहुने तर्क गरे ।
उनले भने,‘ भारतले सधै नेपालको शान्ति प्रक्रियालाई सघाउँदै आएको छ । त्यसैले यो सबैले स्विकारेको संविधानबाट टुङगियोस भन्ने चाहन्छौ ।’ राजदुत रेले थपे,‘ नयाँ संविधानबाट नेपाली जनताले सबै अपेक्षा पुरा हुने धारणा बनाएका थिए । भारतको पनि त्यही अपेक्षा थियो । संविधान जारी भएपछि पुरै नेपालमा खुसीयाली होस भारतले सधै यही कुरा उठाउँदै आएको थियो । संविधान आउनु भन्दा पहिला देखिकै केही कठिनाईहरु आउने संकेत थियो । त्यो कुरालाई सुनिएन ।’
उनले नेपालमा अहिले देखिएको समस्या संबाद र छलफलबाट टुङग्याउनुको विकल्प नभएको भन्दै प्रजातन्त्रमा जनताको कुरा सुन्नु पर्ने सुझाव दिए । ‘ भारतमा पनि क्षेत्रीय चाहनाहरु छन तर भारत एकताबद्ध छ । नेपाल र भारतको एउटै अवस्था छ, विविधतामा एकता । त्यही भएकोले मिलेर जानुस भनेको हो, राजदुत रेले भने,‘ नेपालमा अहिलेको अवस्थाको असर गंभिर छ । मधेस समस्याको असर पुरै नेपालमा छ । काठमाडौ जस्तै तराईमा पनि समस्या छ । जे कारणले आन्दोलन भएको हो त्यसलाई समाधान बार्ताबाट गर्नु पर्छ । सरकारले बार्ता टोली बनाएको छ । यो राम्रो कुरा हो ।’
राजदुत रेले बार्ता टोलीले काम गरिरहेकोले छिटो संविधान संसोधन भएर समस्याको समाधान हुने सम्भावना ब्यक्त गर्दै औषधी र पेट्रोलियम पदार्थको अभाव भयो भनेर सरकारले प्रस्ताव गरे त्यसमा के सहयोग गर्न सक्छौ भनि आफुहरुले विचार गर्ने बताए । उनले जनता आन्दोलनमा रहेकोले त्यसलाई संबोधन गर्नै पर्ने भन्दै त्यो नभएसम्म अस्थिरता कायम रहने र यो कसैको हितमा नहुने तर्क गरे ।
उनले नेपालमा पछिल्ला समयमा बढी रहेको भारत विरोधी भावनाले आफूहरुलाई दुखि बनाएको भन्दै कुनै राजनीतिक कारणले नियोजित रुपमा भारत विरोधी भावना भड्काईएको आरोप लगाए । राजदुत रेले भने ,‘ हामी नेपालको दुस्मन होईन मित्र हौ । हामी नेपालको अहित चाहँदैनौ । नेपालका नोक्सान भए भारतमा पनि असर पर्छ । नेपालमा पीडा भए भारत पनि खुसी हुन सक्दैन । लडाई गरेर दुबै देशको हित हुँदैन । मिलेर जानु पर्छ ।’
उनले थपे,‘ भुकम्पको बेला सहयोग गर्दा पनि ‘गो ब्याक ईण्डियन मिडिया’ भने हामीले केही भनेनौ र अहिले पनि ‘ गो ब्याक ईण्डिया’ भनिदैछ । यस्तो भावना बढाएर नेपालको राष्ट्रिय स्वाधिनता बलियो हुँदैन । यो नेपालको हितमा छैन।’ राजदुत रेले नेपाल भारत सम्बन्धलाई अब नयाँ शिराबाट सोच्नु पर्ने भन्दै यसकोलागि दुबै देशको हित हुने खालको विकास गर्न बसेर कुराकानी गर्नु पर्ने आवश्यकता औल्याए ।
नेपाल र भारतवीचको सम्बन्ध सरकराले नभई जनता, पहाड र नदि नालाले बनाएको सम्बन्ध भएको भन्दै प्रगाढ सम्बन्धमा कहिलकाही उतार चढाव भईरहने बताए । राजदुत रेले भने,‘ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदा यो सम्बन्ध चढावमा पुगेको थियो । अहिले केही समस्या छ । दुई देशको सम्बन्धको आधार बलियो भएकोले अहिलेको समस्या मिलेर समाधान गर्नु दुबै देशको हितमा छ । भारतको एउटै चासो नेपालको शान्ति, स्थायीत्व र विकास हो । यसमा भारतको पनि स्वार्थ छ । नेपालमा शान्ति र स्थायीत्व भए हामी पनि मस्तसँग सुत्न सक्छौ । यहाँ समस्या हुँदा भारतमा पनि समस्या हुन्छ । भारतले ७० वर्षदेखि नेपाली जनताको साथमा रहेर सहयोग गरेको छ भारत सधै नेपाली जनताको साथमा रहन्छ ।’
क्लबका अध्यक्ष ऋषि धमलाले नेपाल र भारतवीचको सम्बन्धमा देखिएको समस्या तत्काल समाधान गर्नु पर्ने भन्दै यसले कसैको पनि हित नगर्ने बताए । उनले नेपालमा आपूर्ति समस्या हुँदा मानवीय संकट उत्पन्न हुन लागेको भन्दै यसको समाधानमा दुबै देश गंभिर हुनु पर्ने सुझाव दिए । हाम्राकुरा डटकम बाट ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।