जनकपुर । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले तीन महिनादेखि मधेसमा जारी आन्दोलनको सम्बोधनमा ढिलाइ भए काठमाडौंबाट पनि आन्दोलन चर्काउने बताएका छन्।
नयाँ शक्ति निर्माण अभियानक्रममा शनिबार जनकपुरमा अन्तक्रिया गर्दै भट्टराईले मधेस आन्दोलनका कारण सिंगो मुलुक तहसनहस भइसक्दा पनि सरकारले समस्या समाधानतर्फ अग्रसरता नदेखाउनु दुर्भाग्य भएको बताए । ‘अधिकारका लागि जारी आन्दोलनको मर्म बुझेर तत्काल सम्बोधन गर्नुपर्नेमा भारतीय नाकाबन्दीसँग जोडेर आन्दोलनलाई नै बदनाम बनाउन केन्द्रित हुन दुर्भाग्य हो,’ उनले भने।
मधेस आन्दोलन र भारतीय नाकाबन्दीलाई एउटै आँखाले हेर्न नहुने बताउँदै भट्टराईले मधेसको समस्या सम्बोधन भए भारतीय नाकाबन्दी स्वतः हट्ने दाबी गरे । मधेस आन्दोलनमा नयाँ शक्ति निर्माण अभियानको पूर्ण समर्थन रहेको बताउँदै उनले थपे, ‘काठमाडौंमा पनि बहस सुरु भइसकेको छ, तिहारसम्म आन्दोलन सम्बोधन भएन भने पहाडी समुदाय पनि मधेसीसँग मिलेरै आन्दोलनलाई थप कडा बनाउने छ ।’
उनले अबको आन्दोलनमा राजमार्ग क्षेत्रमा बसोबास गर्ने पहाडी मूलका जनता र मधेसी जनतासँगै मिलेर आन्दोलन चर्काउने तयारी भइरहेको जनाए । ‘हामी मिल्यौं भने यो आन्दोलनको जित निश्चित छ,’ उनले भने । संघीयताविरोधी कमल थापा नेतृत्वको टोलीबाट मधेसको मुद्दा सम्बोधन हुन नसक्ने जिकिर गर्दै तत्काल समस्या समाधान गर्न प्रधानमन्त्रीसहित प्रमुख दलका अध्यक्ष स्वयं वार्तामा बस्नुको विकल्प नरहेको उनले बताए । नागरिक दैनिकमा खबर छ ।