कात्तिक १५, काठमाडौँ । चीनसँगको तातोपानी नाका भूकम्पपछि खुलेको तीन साता बितेको छ । व्यापारिक कारोबार सञ्चालन गर्न त्यहाँ भौतिक तथा प्रशासनिक अवस्था दुरुस्त छ ।
सवारी साधन दाहोरो आवत–जावत गर्न सक्ने सडक चालू अवस्थामा छ । केरुङको तुलनामा तातोपानी राजधानीसँग जोडिएको सहज र छोटो नाका हो ।
जुन नाकामा तीन दशकदेखि बर्सेनी अर्बौको आयातनिर्यात व्यापार हुदैँ आएको छ । तर उत्तरी छिमेकी चीनले अनुदानमा उपलब्ध गराउने इन्धन ल्याउन यो नाका प्रयोग नगरी किन केरुङ नाका छान्यो ? यो अहिले धेरैको चासोको विषय बनेको छ ।
केरुङ तातोपानीको विकल्प होइन तर त्यसलाई पूरक नाकाका रूपमा दुवै मुलुकले प्राथमिकतामा राखेका छन् । चीनले अहिले उपलब्ध गराउने इन्धन तातोपानीबाट ल्याउन सकिएको भए काठमाडौँसम्मको दूरी छोटो पथ्र्यो ।
ठूला ट्यांकरसमेत सहज आवत–जावत गर्न सक्थे । केरुङ तत्कालका लागि त्यति सहज छैन । तर पनि चीनले केरुङलाई महत्व दिएकोमा भने सरकारी अधिकारीहरू नै आश्चर्यमा परेका छन् ।
‘यसअघि बाटो खुलाउने विषयमा तातोपानीलाई महत्व दिइयो, अहिले इन्धन ल्याउन केरुङलार्इृ महत्व दिइयो । कुरा बुझ्नै सकिएन,’ परराष्ट्र मन्त्रालयका एक अधिकारी भन्छन् । वैशाख १२ को भूकम्पपछि दुवै नाका अवरुद्ध भएका थिए ।
भूकम्पलगत्तै नेपालको भन्दा खासातर्फको अवस्था नराम्रो भएकाले त्यो नाका सञ्चालनमा ल्याउन नसकेको जानकारी चिनियाँहरुले दिदैँ आएका छन् । तातोपानी नाकाबारे छलफल भइरहेको जानकारी चिनियाँले दिएका छन्,’ तातोपानीसँग जोडिएको सरकारी भवन भत्केकाले खासाबजारबाट व्यापार गर्न असहज भएको दाबी उनीहरूको छ ।
उनीहरूले त्यसभन्दा अलि माथि खासाको प्रशासनिक केन्द्र न्योलोमको छेउमा रहेको छ्यासोम भन्ने स्थानमा खासा जस्तै बजार स्थापना गर्ने तयारी गरेको स्थानीयहरू बताउँछन् । –कान्तिपुर दैनिक