कात्तिक १५, काठमाडौ । समानुपातिक सभासद छान्ने क्रममा विराटनगरका पाँच उद्योगपतिको नाम चर्चामा आयो। नेपाली कांग्रेसबाट महेश जाजु, नेकपा एमालेबाट राज्यलक्ष्मी गोल्छा, एकीकृत माओवादीबाट राजकुमार गोल्छा तथा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट दिनबन्धु गोयल र पवन सारडा ।
उद्यम–व्यवसायमार्फत राष्ट्रिय अर्थतन्त्रमा यी पाँचै जनाको योगदान उल्लेखनीय छ । पाँचै जनालाई समानुपातिक उम्मेदवार बनाउनुका पछाडि दलहरूले तिनको योगदानभन्द ‘पैसा’ लाई महत्व दिए ।
सभासद पड्काउन पाँचै उद्योगपतिले पार्टीमा लबिङ पनि बढाए । र, मागे जति पैसा दिए । अन्ततः एमालेबाट राज्यलक्ष्मी र फोरम लोकतान्त्रिकबाट सारडा मात्रै सभासद भए ।
सभासद हुन नसकेकाले पार्टीभित्र तीव्र असन्तुष्टि पोखे । खर्च भएको पैसाको हरहिसाब मागे । एमालेबाट राज्यलक्ष्मीको नाम समानुपातिक सभासदका लागि चर्चामा रहेका बेला एमाले वरिष्ठ नेता माधवकुमार नेपाल विराटनगर आएका थिए ।
रात्रिविश्रामका लागि मोरङको निमुवास्थित मनमोहन पोलिटेक्निक पुगेका नेता नेपालसँग मोरङ एमालेको एउटा खेमाले गोल्छालाई सभासद नबनाउन माग गर्यो ।
‘पार्टीमा उसको केही पनि योगदान छैन, टप्पक टिपेर सभासद बनाउँदा असन्तुष्टि बढ्छ भनेर हामीले माधव कमरेडलाई आग्रह गर्यौं’गोल्छालाई सभासद बन्न नदिन त्यतिबेला लबिङ गरेका मोरङ एमालेका एक नेताले नागरिकसँग भने, ‘उहाँले मान्दै मान्नुभएन, तपाइँहरूलाई थाहा छैन, राज्यलक्ष्मीका श्रीमान महेन्द्र गोल्छाले पार्टीमा गरेको योगदान ।’
गोल्छालाई सभासद बन्नबाट रोक्न अभियान नै चलाएको मोरङ एमालेको त्यो खेमा त्यत्तिमै चुप लागेर बसेन। जिल्लाबाट नामै सिफारिस नभएको व्यक्तिको नाम समानुपातिक सूचीमा समेटिएपछि मोरङ एमालेले पार्टी नेतृत्वलाई पत्र नै लेखेर ‘यो के भएको हो ? भनेर जवाफ माग्यो ।
समानुपातिक सभासदमा गोल्छाजीको नाम एकाएक आयो’ एमाले मोरङका अध्यक्ष महेश रेग्मीले भने, ‘हामीले सिफारिस पनि गरेका थिएनौं, पार्टीले सोध्दा पनि सोधेन ।’
भोट नहालेपछि खटपट
असोज २४ गते आइतबार प्रधानमन्त्री चुनावका बेला सभासद गोल्छा उपचारु का लागि नयाँदिल्लीमा थिइन् । गोल्छाको भनाइअनुसार उनी उपचारका लागि नयाँदिल्ली पुगेको कुरा एमाले अध्यक्ष केपी शर्मा ओली र सचेतक अग्नि खरेललाई जानकारी थियो ।
शनिबार राति सचेतक खरेलले जसरी पनि भोट हाल्न आइपुग्नुपर्छ भनेर गोल्छालाई फोन गरे । ढिलो खबर आयो भनेर उनी नयाँदिल्लीबाट काठमाडौं आउन चाहिननँ । -नागरिक दैनिक