0 COMMENTS

काठमाडौं, १२ कात्तिक । विद्या भण्डारी राष्ट्रपति निर्वाचित भएपछि उनलाई बधाई तथा शुभकामना दिनेको होडबाजी छ । शक्तिशाली मित्रराष्ट्रदेखि नेपालका सामान्य नागरिकसम्मले उनलाई बधाई दिइरहेका छन् । लैंगिकरुपमा पहिलो पटक महिला राष्ट्रपति बनेपछि महिलाहरुमा विशेष खुसी छाएको छ । सामाजिक सञ्जालका भित्ताहरु नवनिर्वाचित राष्ट्रपति भण्डारीलाई दिइएको बधाई तथा शुभकामनाका शब्द र तस्वीरहरुले भरिएका छन् ।

नवनिर्वाचित राष्ट्रपतिBidhya-Bhandari विद्यालाई बधाई र शुभकामनाका शब्दहरु बर्सिरहेका बेला त्यसकै अनुपातमा उनीमाथि विगतले पोतेका गालीहरु पनि छिपेको छैन । केही जमात त उनलाई बधाईसमेत दिन तयार छैनन् । केही नारीले नै उनलाई ‘नारीको नाममा कलंक’को संज्ञा दिएका छन् । सद्भावना नेतृ सरिता गिरीले केही दिनअघि भण्डारीलाई राष्ट्रपति बनाउन नहुने तर्क गरेकी थिइन् । सामाजिक सञ्जाल फेसबुकमार्फत नै गिरीले भण्डारी महिला अधिकारविरोधी भएको दाबी गरेकी थिइन् । नवनिर्वाचत राष्ट्रपति विद्यामाथि लागेका आरोपहरु यस्ता छन् ।
आरोप १: दासढुङ्गा प्रकरणको दोषी पत्ता लगाउन ठोस पहल नगरेको

२०५० जेठ ३ गते एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुङ्गामा रहस्मय जीप दुर्घटनामा मृत्यु भयो । तत्कालीन राजनीतिमा निकै प्रखर तथा प्रभावशाली भण्डारी विद्याकै श्रीमान हुन् । घटनापछि एमाले पटक-पटक सरकारमा गइसकेको छ । तर सरकारले घटनाको सत्यतथ्य पत्ता लगाउनेगरी कुनै औपचारिक प्रयासनै गरेको छैन । भण्डारीकी पत्नी विद्या आफैँ पनि पटक-पटक सरकारमा गइसकेकी व्यक्ति हुन् । एमाले वरिष्ठ नेता माधव नेपाल नेतृत्वको सरकारमा भण्डारीले रक्षा मन्त्रालयसमेत सम्हालीसकेकी छिन् । तर उनै भण्डारीले आफ्नै पतिको रहस्यमय मृत्यु भएको घटनाबारे कुनै खोजबीन नगरेको एमाले कार्यकर्ताहरु नै आरोप लगाउने गर्छन् ।
आरोप २ : महिला अधिकार विरोधी

उनलाई महिला अधिकार विरोधी नेताको रुपमा महिला अधिकारवादीहरुले नै आरोप लगाउँछन् । केहीवर्ष अघि राजधानीमा आयोजित एक कार्यक्रममा भण्डारीले भनेकी थिइन्, ‘महिलाका लागि धेरै संवैधानिक व्यवस्था भएका छन्, तर पनि महिला आन्दोलनकारीहरु यसो र उसो भनेर कराईरहेका छन्,’ उनले थपेकी थिइन्, ‘मलाई त्योचाहिँ मन परेको छैन ।’ उक्त भनाईको महिला अधिकारवादीहरुले निकै विरोध गरेका थिए । भण्डारीले त्यतिबेला भनेकी थिइन्, ‘हामीले मानेपनि नमानेपनि पूर्वीय संस्कार र संस्कृतिमा महिला पुरुषप्रति नै सम्पूर्णरुपमा समर्पित हुन्छिन् यो विभेदकारी व्यवस्था भएपनि समाज यसैगरी चलिएको छ ।’

यहि भनाईलाई आधारबनाएर अधिकांश महिलाअधिकारवादीले उनलाई महिला अधिकारविरोधीको आरोप लगाएका थिए । यद्यपी उनी महिला अधिकारविरोधी भएपनि सोही महिला अधिकारवादी आन्दोलनले उनलाई राष्ट्रपतिको कुर्सीमा आसन गराएको छ । केही महिला अधिकारवादीले उनी महिला अधिकारविरोधी भएपनि नेपालको सर्वोच्च निकायमा महिलाको प्रतिनिधित्व भएकाले खुसी हुनुपर्ने धारणा राखेका छन् । ‘उनी महिला विरोधी हुन्,’ लेखक मन्जुश्री थापाले केही दिनअघि ट्विट गरेकी थिइन्, ‘कोहीपनि नहुनुभन्दा प्रतिनिधित्व हुनु राम्रो कुरा हो ।’ राष्ट्रपतिमा निर्वाचित भएपछि भारतीय चर्चित दैनिक पत्रिका हिन्दुस्तान टाइम्सले समेत उनलाई महिला अधिकारविरोधी भएका कारण महिलाहरुले नै आलोचना गरेको उल्लेख गरेको थियो । यद्यपी दि हिन्दुले भने महिला अधिकारवादी आन्दोलनको अभियान्ता भएको बताएको छ । चाइना डेल्लीले नेपालमा ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउन क्रियाशील भएर लागि परेको उल्लेख गरेको छ ।
आरोप ३ : बलात्कारी सेनाबारे विवादास्पद् अभिव्यक्ति

२०६६ साल फागुन २६ गते बर्दिया राष्ट्रिय निकुञ्जका सेनाले एकै परिवारका ३ जनामाथि बलात्कार गरि हत्या गरेको खबर आयो । १२ वर्षीय चन्द्रकला विक र उनकै आमा दविसारा विक तथा कान्छी आमा अमृता विकलाई सेनाले बलात्कारपछि विभत्स हत्या गरेको सार्वजनिक भयो । त्यतिबेला माधव नेपाल नेतृत्वको सरकार थियो । वर्तमान राष्ट्रपति विद्या भण्डारी रक्षा मन्त्री थिइन् । घटनाको छाबिन गरि दोषीमाथि कारबाही गर्न संसदमा कुरो उठ्यो । तर उनले व्यवस्थापिका संसदमा सो घटनामा मुठभेडमा सिकारी मारिएको भन्दै विवादास्पद अभिव्यक्ति दिएकी थिइन् । ‘चोरी शिकारीमा संलग्नहरु मुठभेडमा मारिएका हुन्,’ उनले संसदमा जवाफ दिनेबेला भनेकी थिइन् । निकुञ्जभित्र रहेको ज्वाला दल गणका उपसेनानी सुवोेध कुँबर लगायत गस्ती टोलीका १७ जना नेपाली सेनाका जवानले वनमा काउलो काट्न गएका ३ महिला माथि बलात्कार गरि हत्या गरेको मानवधिकारवादी संस्थाले प्रतिवेदन निकालेका थिए ।
आरोप ४: नागरिकता सम्बन्धी आरोप

महिला अधिकारवादीले विदेशीसँग विवाह गर्ने महिलाले पनि छोरासरह नेपाली नागरिकता पाउनुपर्ने माग गर्दै आएका छन् । तर विद्या भण्डारी महिलाअधिकारवादीको यो भनाईको विपक्षमा छिन् । उनले एक निजी टेलिभीजनलाई अन्तरवार्ता दिँदै भनेकी थिइन्, ‘कुनै पनि नारीले विश्वको अन्य राष्ट्रका नागरिकसँग विवाह गर्छिन् भने उनलाई नागरिकता दिनुपर्छ भन्ने छैन ।’
आरोप ५: श्रीमानको ब्याज

एमाले वृतमा विद्यालाई स्वर्गीय पति मदन मदन भण्डारीको ब्याजले पद मिलेको चर्चा हुनेगर्छ । हालै एक टेलिभीजनमा अन्तरवार्ता दिँदै भण्डारीले आफ्नो पतिले राजनीतिमा गरेको त्यागका कारण आफू यो स्थानमा पुगेको बताएकी थिइन् । त्यसो त २०५० जेठ ३ गते चितवनको दासढुङ्गा दुर्घट्नापछि काठमाडौंको क्षेत्र नम्बर १ मा सम्पन्न उपनिर्वाचनमा विद्याले अत्याधिक मतसहित विजयी भएकी थिइन् । त्यतिबेला एमालेले स्वर्गीय नेता भण्डारीप्रति उच्च सम्मान गर्नको लागि भन्दै विद्यालाई निर्वाचनमा उठाएको थियो । एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद्का प्रवर्तक मदन भण्डारीप्रति सम्मान अर्पण गर्नपनि उनलाई एमाले नेताहरुको सद्भाव छ । त्यसैले त उनलाई अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओलीले राष्ट्रपतिमा प्रस्ताव गरे । ओलीले विद्याको नाम लिएपछि विभिन्न गुटमा लागेका नेताहरु मौन रहे । एमालेभित्र चौंथो बरियतामा पर्ने उनी ओली समुहकी हुन् ।साभार साझासवाल 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।