0 COMMENTS

Match-Fixing-600x0काठमाडौं, १२ कात्तिक । प्रहरी अनुसन्धानका क्रममा म्याच फिक्सिङमा अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीको समेत संलग्नता भेटिएको छ । सिंगापुरका बुकीले एन्फाका पदाधिकारीलाई समेत पैसा पठाएको अनुसन्धानले देखाएको छ ।

महानगरीय अपराध महाशाखा स्रोतका अुनसार म्याच फिक्सिङमा संलग्न सिंगापुरका नागरिक टिटानी पेरियासामीले एन्फाका ती अधिकारीलाई समेत पैसा पठाएको खुलेको छ । तर, अनुसन्धानमै रहेकाले प्रहरीले ती एन्फा अधिकारीको नाम भने खुलाइएको छैन । स्रोतका अनुसार ती एन्फा अधिकारी हाल अमेरिकामा छन् । खेलाडी मात्र नभई एन्फा पदाधिकारीको समेत मिलेमतोमा अन्तर्राष्ट्रिय खेलहरूमा म्याच फिक्सिङ भएको प्रहरीले जनाएको छ । म्याच फिक्सिङ भएका खेलका सहभागी सम्पूर्ण खेलाडी तथा पदाधिकारीको विवरण पठाउन प्रहरीले एन्फालाई पत्राचार गरेको छ । तर, एन्फाले कुनै विववरण नदिएर अनुसन्धानमा असहयोग गरेको प्रहरी अधिकारी बताउँछन् ।

महानगरीय अपराध महाशाखाले चार राष्ट्रिय खेलाडी र एक प्रशिक्षकलाई म्याच फिक्सिङमा पक्राउ गरी राज्यविरुद्धको अपराध मुद्दामा अनुसन्धान अघि बढाएको छ । राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापासहित गोलरक्षक रितेश थापा, सन्दीप राई, विकाससिंह क्षेत्री तथा थ्री स्टार क्लबका पूर्वप्रशिक्षक अञ्जन केसी प्रहरी हिरासतमा छन् । राज्यविरुद्धको अपराध मुद्दामा विशेष अदालतले उनीहरूलाई १७ दिनमा थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको थियो । बुधबारदेखि उनीहरूको बयान सुरु भएको छ । बयानका क्रममा बोली फेरेका उनीहरूले म्याच फिक्सिङबारे केही थाहा नभएको बताएका छन् । पक्राउ परेलगत्तै प्रहरीले लिएको बयानमा भने उनीहरूले पैसा बाँडेर लिएको बताएका थिए । त्यसकारण यो प्रकरणमा अरू धेरै खेलाडी पनि अनुसन्धानमा तानिने स्रोत बताउँछ । म्याद थप गरेपछि थप व्यक्तिमाथि छानबिन गर्ने र थप प्रमाण संकलन गर्ने काम भइरहेको अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए ।

‘खेल राष्ट्रिय एकताको प्रतीक हो,’ एसएसपी खनालले भने, ‘विदेशी गिरोहसँग मिलेर मिलेमतोमा फुटबल खेलेर राष्ट्रको प्रतिष्ठामा धब्बा लगाउने काम गरेकाले हामीले राज्यविरुद्धको अपराध मुद्दामा अनुसन्धान अघि बढाएका हौँ ।’ नेपालको खेल भएको समयमा नै ती खेलाडीलाई रकम आएको प्रहरी अनुसन्धानमा देखिएको छ । ‘जहिले–जहिले नेपालको गेम भएको छ, त्यही बेला पैसा आएको देखिन्छ,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले भने । अपराध महाशाखाका अनुसार १३ डिसेम्बर २००९ मा सिंगापुरका बुकी टिटानीबाट रितेशको नाममा तीन हजार ६३ डलर आएको थियो । त्यस्तै, २००९ र २०१२ मा एक–एकपटक र २०१३ मा तीनपटक अञ्जन केसीको नाममा करिब तीन लाख डलरका दरले पैसा आएको छ । नवराज मैनालीले आजको नयाँ पत्रिका दैनिकको लागि खबर लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।