0 COMMENTS

Rambaran-Yadavकाठमाडौं, ५ कात्तिक / राष्ट्रपति डा. रामवरण यादवले नयाँ संविधान निर्माणसँगै मुलुकमा आर्थिक एवम् सामाजिक विकासतर्फ केन्द्रित गर्ने बाटो खुलेको बताएका छ ।

बडादसैँ २०७२ का अवसरमा राष्ट्रपति डा. यादवले बिहीबार दिएको शुभकामना सन्देशमा देश–विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति र समृद्धिका लागि हार्दिक एवम् मङ्गलमय शुभकामना व्यक्त गर्दै प्रमुख राजनीतिक मुद्दा निरुपण भएको पृष्ठभूमिमा अब सम्पूर्ण सोच र शक्ति आर्थिक क्रान्तिका लागि साझा राष्ट्रिय लक्ष्यमा लाग्नुपर्ने जनाएका छन् ।

‘जननिर्वाचित प्रतिनिधिबाट संविधान बनाउने हाम्रो झण्डै सात दशक पुरानो राष्ट्रिय सपना भर्खरै साकार भएको छ । संविधानसभाबाट नेपालको संविधान जारी भएको सुअवसरमा पुनः हार्दिक बधाई ज्ञापन गर्दछु,’ उनले सन्देशमा भनेका छन्, ‘नयाँ संविधानको कार्यान्वयनसँगै झण्डै एक दशकअघि सुरु गरिएको शान्ति प्रक्रिया टुङ्गिएको छ भने जनआन्दोलनका उपलब्धि बनेका लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, समावेशीताले संस्थागत स्वरुप प्राप्त गरेका छन् ।’

सन्देशमा संविधान निर्माण आफैँमा एउटा निरन्तर प्रक्रिया भएको र यसको अभ्यास तथा कार्यान्वयन गर्दै अघि बढ्दा यो थप परिष्कृत, समावेशी र न्यायपूर्ण हुँदै जाने भन्दै नेपालको नयाँ संविधान देशमा संविधानवाद र लोकतन्त्रका आधारभूत मान्यता स्थापित गर्दै नेपालबाट सबै प्रकारका विभेद, अन्याय र शोषणलाई अन्त्य गर्न सफल हुने विश्वास व्यक्त गरिएको छ ।

संविधानले हिमाल, पहाड, तराई, मधेश या पूर्व–पश्चिममा बसोबास गर्ने भिन्नभिन्न जातजाति, वर्ण, भाषा, धर्म र सामाजिक एवम् सांस्कृतिक पहिचान बोकेका सबै नेपालीको लागि समान अवसरको ढोका खोली राष्ट्रिय एकता सुदृढ पार्न र सामाजिक सद्भाव एवम् क्षेत्र, जातजाति र समुदायबीच आपसी भाइचारा कायम गर्न उल्लेख्य योगदान दिन सफल रहोस् भन्ने कामना राष्ट्रपतिको रहेको छ ।

‘चाडपर्व नेपाली समाजका गहना हुन् । हरेक ऋतु परिवर्तनसँगै आइरहने चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेका छन्,’ सन्देशमा भनिएको छ, ‘विभिन्न जात–जाति, समुदाय, भूगोल र धर्माबलम्वीका विशिष्ट परम्परा हाम्रो राष्ट्रिय एकताको मियोका रुपमा रहेका छन् ।’

उनले दसैं, तिहार, छठ, ल्होसारजस्ता पर्वलाई साझा सांस्कृतिक उत्सवका रुपमा विस्तार र विकास गर्नेतर्फ ध्यान दिनु समायोचित हुने पनि बताएका छन् ।

विनाशकारी भूकम्पले फैल्याएको सन्त्रास र क्षतिबाट मुलुकको ठूलो भू–भाग अद्यापि आक्रान्त रहिरहेकै अवस्थामा देशको केही भू-भाग, विशेषतः तराई, मधेश आन्दोलित र अशान्त हुन पुगेको तथा निरन्तरको बन्द, हड्ताल र असुरक्षाले तराई, मधेशका जनताको जीवनयापन अत्यन्त कष्टकर हुँदै गइरहेको स्मरण गराउँदै उहाँले लाखौँ बालबालिकाको पढाइ बर्बाद भएको, सिङ्गो मुलुककै उद्योग, कलकारखाना, बैंक–वित्तीय प्रणाली र राष्ट्रिय अर्थतन्त्रमा समेत प्रतिकूल असर पार्न थालेकामा राष्ट्रपतिले चिन्ता व्यक्त गरेका छन् ।

सन्देशमा भनिएको छ, ‘लोकतन्त्रमा विरोध, हड्ताल र आन्दोलनलाई स्वभाविक प्रक्रियाका रुपमा लिइन्छ । विरोध र आन्दोलनको स्वरुप भने सधैंँ लोकतान्त्रिक र शान्तिपूर्ण हुनुपर्ने हुन्छ । आन्दोलनकारीप्रति राज्यका व्यवहार पनि संयमित र सहिष्णु हुनु अति जरुरी हुन्छ ।’

लोकतान्त्रिक पद्धतिको सीमाभित्र रहेर उठाइने विरोधका आवाज र आन्दोलनका मागलाई गम्भीर र संवेदनशील ढङ्गबाट ग्रहण गरी वार्ता, छलफल आदिको माध्यमबाट संवोधन गर्नु लोकतान्त्रिक सरकारहरुको कर्तव्य हुन आउने तथा परिवर्तन र लोकतन्त्रको सङ्घर्षमा सधैंँ अग्रपङ्तिमा रहँदै आएका तराई, मधेशका जनताको आवाज सुन्न र त्यहाँको समस्याको समाधान पहिल्याउन अरु ढिलाइ नगर्न संवद्ध सबै पक्षसँग राष्ट्रपतिले आग्रह गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।