कात्तिक ४, रुपन्देही । नेपाली युवकको कुटपिटबाट दुई जना भारतीय नागरिक सीमा नाका बेलहियामा घाइते भएपछि केही दिनयता सुचारु रुपन्देहीको नेपाल भारत सीमानाका बेलहिया अाज बिहानैदेखि बन्द भएको छ ।
बेलहियाको सेरे पञ्जाब होटलमा मदिरा सेवन गरिरहेको अवस्थामा बेलहियाका सचिन थैव, सुनील रानाले भारतीय नागरिक अजय सिंह राजकोट, कृष्ण मुरारी मधेसीयालाई कुटपिट गरेको विषयलाई लिएर बेलहिया नाका बन्द भएको हो ।
कुटपिटबाट भारतीय नागरिक घाइते भएपछि मङ्गलबार रातिदेखि नै असहज बनेको बेलहिया नाकामा भारतीय पक्षले अहिलेसम्म कुनै पनि गाडी नेपाल प्रवेश गर्न दिएको छैन ।
घाइते राजकोटको चिउडोमा चोट लोगेको छ भने मधेसीयाको हातमा सामान्य चोट लागेको र उनीहरुको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
भारतीय पक्षले नेपालतर्फ मालबहाक तथा सवारीसाधन आउन रोक लगाएपछि बेलहिया नाकाबाट भारतबाट रोजगारी गरी फर्कने नेपाली मात्रै आएका छन् ।
मङ्गलबार साँझको उक्त घटना पछि दुवै देशका सुरक्षा अधिकारीले बेलहिया नाकामा सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ । नेपालका तर्फबाट पनि बेलहिया नाकामा यसअघिभन्दा केही बढी सुरक्षाकर्मी खटाएको रुपन्देही प्रहरीले जनाएको छ ।