कत्तिक १, काठमाडौं / भारतको रक्सौल नाकामा पछिल्लो २४ दिनदेखि रोकिएका इन्धनका ट्यांकरहरू अन्य नाकाबाट नेपाल भित्राउन नेपाल आयल निगमसँग इन्डियन आयल निगम (आईओसी) ले सहमति जनाएको छ ।
इन्धन आपूर्तिमा आएको समस्याबारे माथिल्लो स्तरमा आवश्यक पहल गर्न पुगेका निगमका कार्यकारी निर्देशक गोपाल खड्का र आईओसीबीच यस्तो सहमति भएको हो ।
पारवहन सम्झौताअनुसार पछिल्लो समयमा नेपालमा भारतबाट इन्धन आपूर्तिमा आएको व्यवधानबारे आवश्यक पहल गर्न निगमका कार्यकारी निर्देशक खड्का शनिबार र निमित्त निर्देशक मुकुन्दप्रसाद घिमिरे दुई दिनअघि नयाँदिल्ली गएका हुन् ।
कार्यकारी निर्देशक खड्काले शनिबार टेलिफोनमार्फत भने, ‘इन्धनको आपूर्ति, लोडिङको अवस्था र परिमाण बढाउने विषयमा आवश्यक छलफल गर्न शनिबार नयाँदिल्ली आइपुगेको छु ।
आईओसीले रक्सौल नाकामा लोड भएर बसेका सम्पूर्ण ट्यांकर र ग्यासका बुलेट अन्य सुरक्षित नाकाबाट नेपाल पठाउने विषयमा सहमति दिएको छ ।’ उनका अनुसार कुनकुन नाकाबाट बढी परिमाणमा इन्धन लोडिङ गरेर सुरक्षित रूपमा नेपाल पठाउन सकिन्छ भन्ने विषयमा आईओसीसँग छलफल भएको छ ।
खड्काका अनुसार भारतमा आइतबार सार्वजनिक बिदा भएकाले सोमबार आईओसीका अन्य उच्च अधिकारीसँग पनि भेटवार्ता गरेर समस्याको समाधान निकालिनेछ । यसअघि पुगेका निगमका निमित्त निर्देशक घिमिरेले वार्ताको सकारात्मक पहल गरेपछि खड्का दिल्ली पुगेका हुन् ।
खड्का र घिमिरेको आईओसीको कोलकाता क्षेत्र हेर्ने कमर्सियल तथा मार्केटिङ महाप्रबन्धक एसएस बोससँग नियमित वार्ता भइरहेको निगमले जनाएको छ । खड्काले भने, ‘आईओसीको अपरेसन म्यानेजर स्तरमा दुई दिनदेखि सकारात्मक वार्ता भइरहेको छ ।
बोस नेपाल हेर्ने आईओसीसम्बद्ध अधिकारी हुन् । उनीसँग शनिबार पनि वार्ता भएको थियो । उनले रक्सौलमा रोकिएका इन्धनका ट्यांकर अर्को बाटो (रुट) गरेर पठाउने सहमति दिएका छन् ।
आवश्यक व्यवस्थापन गर्न रक्सौलमा पनि निगमका कर्मचारी पठाइसकिएको उनले खड्काले जानकारी दिए । रक्सौल नाकामा मात्रै तीन सयभन्दा बढी संख्यामा लोड भएको बुलेट रोकिएको अवस्थामा छन् । ती बुलेटबाट झन्डै चार लाख सिलिन्डर भर्न मिल्छ ।
रक्सौल नाकामा रोकिएका ट्यांकर र ग्यासका बुलेट अर्को नाकाबाट नेपाल ल्याउँदा लाग्ने थप ढुवानी खर्च भने एनओसीले नै व्यहोर्नुपर्नेछ । खड्काले नयाँदिल्ली पुगेका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको नेतृत्वमा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको टोलीसँग इन्धन आपूर्तिका विषयमा भारतका उच्च अधिकारीसँग पनि थप वार्ता हुने जानकारी दिए ।
‘म छुट्टै आएको छु’, खड्काले भने, ‘मन्त्री र सहसचिवको अर्को टोली पनि आएको छ । इन्धन आपूर्तिका विषयमा मन्त्री स्तरमा थप वार्ता हुने तय भएको छ ।’ -अन्नपूर्ण पोष्ट दैनिक