0 COMMENTS

काठमाडौँ, २९ असोज / एकीकृत नेकपा (माओवादीका) सांसद ओनसरी घर्तीले सभामुख पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।

व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो १ः४५ बजे उहाँले सभामुखको उम्मेदवारी दर्ता गराउनु भएको हो । घर्तीको प्रस्तावकमा नेकपा (एमाले)का उपाध्यक्ष विद्यादेवी भण्डारी हुनुहुन्छ भने समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सांसद कुन्तीकुमारी शाही र बहुजनशक्ति पार्टीका सांसद विश्वेन्द्र पासवान हुनुहुन्छ ।

वर्तमान सरकार गठन हुने क्रममा एकठाउँमा उभिएका दलहरुका साझा उम्मेदवारको रुपमा घर्तीको उम्मेदवारी परेको हो ।
यस्तै, उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सांसद गङ्गाप्रसाद यादवको उम्मेदवारी परेको छ । उहाँको प्रस्तावक एमालेका सांसद शत्रुघन महतो र समर्थकमा एमाओवादीका सचेतक रेखा शर्मा हुनुहुन्छ ।

व्यवस्थापिका–संसद्ले तय गरेको कार्यतालिका अनुसार आज दिउँसो २ बजेसम्म बहुमतीय प्रक्रियाका आधारमा सभामुख र उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गराउनुपर्नेछ ।

नयाँ संविधानअनुसार व्यवस्थापिका–संसद्को अधिवेशन सुरु भएको २० दिनभित्र सभामुख र उपसभामुख पदको नयाँ निर्वाचन गर्नुपर्ने व्यवस्था रहेको छ । पूर्व सभामुख सुवास नेम्वाङ र उपसभामुख ओनसरी घर्तीले राजीनामा दिनुभए पछि आज नयाँ निर्वाचन हुन लागेको हो ।

यसअघि सभामुख पदमै नेपाल मजदुर किसान पार्टीका अनुराधा थापा र उपसभामुखमा सोही पार्टीका डिल्लीप्रसाद काफ्लेले समेत उम्मेदवारी दर्ता गराउनुभएको छ ।

सहमतीय प्रक्रियाका आधारमा सभामुख चयन हुन नसकेपछि आज बहुमतीय प्रक्रियाका आधारमा सभामुख र उपसभामुख चयन हुन लागेको हो ।

आज दिउँसो ३ बजे बस्ने संसद्को बैठकमा सभामुखको निर्वाचन हुनेछ भने साँझ ५ बजे उपसभामुख चयन हुनेछ ।

सभामुख पदको उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै घर्तीले सबै राजनीतिक दलसँग समदूरी र समान भावनाका साथ काम गर्ने बताउनुभयो ।

संविधानसभाबाट संविधान जारी भएको अवस्थामा आफूलाई सबैको सकारात्मक सहयोग र सद्भावको आवश्यकता रहने उहाँले उल्लेख गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।