0 COMMENTS

match-fixकाठमाडौं २९ असाेज /म्याच फिक्सिङको आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तानसहित ५ खेलाडीलाई विहीबार महानगरीय प्रहरी परिसरको जिम्मा लगाइएको छ । अपराध अनुसन्धान महाशाखाको रोहबरमा बुधबार पक्राउ परेका उनीहरुलाई महानगरीय प्रहरी परिसरको जिम्मा लगाइएको हो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा म्याच फिक्सिङ गरेको अभियोगमा प्रहरीले बुधबार राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापा, रितेश थापा, सन्दीप राई तथा पूर्वखेलाडीहरु विकाससिंह क्षेत्री, र अञ्जन केसीलाई पक्राउ गरेको थियो । प्रहरीले राज्यविरुद्ध गम्भीर षड्यन्त्र गरेको अभियोग लगाउँदै अनुसन्धान सुरु गरेको छ ।

सामान्यतः पक्राउ परेका अभियुक्तहरुलाई २४ घन्टाभित्र म्याद थप गर्नुपर्ने प्रावधान रहेपनि दसैंका लागि भन्दै अदालतहरु बन्द गरिसकिएकाले उनीहरुलार्ई महानगरीय परिसरलाई जिम्मा लगाइएको छ । अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालका अनुसार राज्यविरुद्धको अपराधको दफा ३ को उपदफा ३.३ मा रहेको प्रावधानअनुसार अनुसन्धान प्रक्रिया अगाडि बढाइएको हो ।

दफा ३ को उपदफा ३.३ मा ‘कसैले नेपालको सार्वभौम सत्ता, अखण्डता वा राष्ट्रिय एकतामा आघात पर्न सक्ने गरी कुनै विदेशी राज्य वा संगठित शक्तिसँग मिली कुनै प्रकारको षड्यन्त्र गरेमा निजलाई जन्मकैद वा दश वर्षसम्म कैद’ हुने उल्लेख छ।

लामो समयको अनुसन्धानपछि उनीहरुलाई पक्राऊ गरिएको एसएसपी सर्वेन्द्र खनालले जानकारी दिएका छन् । पक्राउ परेका खेलाडीहरु आफूमाथिको अभियोग स्वीकार गरिसकेको उनले बताए ।

नेपाल प्रहरीले जारी गरेको विज्ञप्तिमा म्याच फिक्सिङबारेको जानकारी यसरी दिएको छ ।

सन् २००८ मा मर्डेका कपमा अफगानिस्तानसँग २–२ गोलको बराबरी खेल खेल्ने सर्तमा प्रति खेलाडीले ५ हजार अमेरिकी डलर लिएको खुल्न आएको ।
सन् २००९ को साफ च्याम्पियनसिपमा अमेरिकी डलर ३०६१ लिई दामासाहीमा बाँडी लिएको।
सन् २०११ मा मलेसियासँगको मैत्रिपुर्ण खेलमा २–० ले खेल हार्ने सर्तमा प्रति खेलाडी अमेरिकी डलर ५ हजार लिएको।
सन् २०११ मा फिलिपिन्ससँग भएको मैत्रिपूर्ण खेलमा ४–० ले हार्ने सर्तमा प्रति खेलाडीले अमेरिकी डलर ५ हजार लिएको।
सन् २०१२ मा भारतमा भएको नेहरु कप अन्तर्गत क्यामरुनसँग ४–० ले हार्ने सर्तमा प्रति खेलाडी अमेरिकी डलर ५ हजार लिने गरी सर्त भएकोमा खेलको अन्त तर गोलकिपर रितेश थापाको ठाउँमा खेलाडी परिवर्तन हुँदा ५–० गोलले हारेकोले रकम नपाएको।
सन् २०१४ मा कोरियामा भएको यु २३ एसियन च्‍याम्पियनसिप गेममा खेल हार्ने सर्तमा निजहरु प्रति खेलाडीेले अमेरिकी डलर ५ हजार लिएको।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।