विराटनगर, असोज २७ । नाकाबन्दी खुकुलो भएपछि भारतबाट नेपाल आएको पेट्रोलियम पदार्थ र ग्यास राजधानीमा पनि जान थालेको छ ।
राजधानीमा पेट्रोलियम र ग्यासको चरम अभाव भएपछि गृह मन्त्रालयको पहलमा पेट्रोल, डिजेल र ग्यास पठाउन थालिएको हो ।
मंगलबार ठूलो परिमाणमा नेपाल भित्रिएको पेट्रोलियम पदार्थ राजधानीलाई पनि वितरण गरिएको छ । नेपाल आयल निगम स्रोतका अनुसार राजधानीका लागि मंगलबार भित्रिएकामध्ये डिजेलका २१ वटा ट्याङ्कर पठाइएको छ । बुधबार १० वटा पेट्रोलका ट्याङ्कर पठाउन लागिएको स्रोतले जनाएको छ ।
मंगलबार जोगबनी नाकाबाट ५३ डिजेल र २० वटा पेट्रोलका ट्याङ्कर नेपाल भित्रिएको थियो । ग्यासका बुलेट १७ वटा भित्रिएको थियो । ‘राजधानीमा चर्को अभाव रहेकाले गृह मन्त्रालयको अनुरोधबमोजिम पेट्रोलियम पदार्थ पठाइएको हो, ‘प्रशासन स्रोतले भन्यो, ‘यहाँबाट भित्रिएको करिब पचास प्रतिशत ग्यास पनि राजधानी पठाइँदै छ ।’
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको लामो समयदेखिको हडताल र सिमा अवरोधका कारण देशभर पेट्रोलियम र ग्यासको अभाव हुन थालेको थियो । त्यसमाथि भारतपक्षले अघोषित नाकाबन्दी गरेपछि अभाव झन् चुलिएको थियो ।
मंगलबारबाट नाकाबन्दी खुकुलो भएपछि पेट्रोलियम र ग्यास नेपाल भित्रिन थालेको छ । मंगलबार २ सय ७० वटा अन्य मालबाहक सवारी पनि भित्रिएका छन् । विराटनगर भन्सार कार्यालयका अनुसार बुधबार पनि ७ वटा डिजेलका ट्याङ्कर नेपाल भित्रिएका छन् ।
‘पेट्रोलियम पदार्थ भित्रिने क्रम बढिरहेको छ, आज पनि केही गाडी लाइनमा छन्, ‘भन्सार प्रमुख कृष्ण बस्नेतले भने, ‘लाइनमा रहेका गाडी नेपाल पठाउन अनुरोध गरिरहेका छौं ।’ उनका अनुसार भारतको बथनाहतिर रोकिएका गाडी रोकिएका अन्य सवारीका कारण आउन कठिन भइरहेको छ । ती गाडी एक/दुई दिनभित्र आइपुग्ने बस्नेतको विश्वास छ ।
स्रोतका अनुसार अन्य नाकाबाट भित्रिएको पेट्रोलियम राजधानी पुग्न नसकेपछि गृह मन्त्रालयले यताबाट पठाउन प्रशासनलाई निर्देशन दिएको छ । ‘यहाँ धेरै अभाव नहुने किसिमले हामीले राजधानीमा पठाइरहेका छौं,’ प्रशासन स्रोतले भन्यो ।