0 COMMENTS

Nepal-Airlines-A320काठमाडौं, २६ असोज । केही दिनदेखि हवाई जहाजमा तेल ओसारिरहेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेवानि) लाई नेपाल आयल निगमसँग काठमाडौंमा किन्दाभन्दा भारतको कोलकाताबाट ओसार्दा इन्धन सस्तो पर्ने देखिएको छ।

निगमका अनुसार आयल निगमसँग हवाई इन्धन किन्दा प्रतिकिलोलिटर करिब १ हजार ३ सय ५० डलर (१ लाख ३० हजार ५ सय रुपैयाँ) पर्छ। कोलकातामा त्यही इन्धन प्रतिकिलोलिटर ४ सय ७० डलर (४० हजार ७ सय रुपैयाँ) मा पाइन्छ।

नागरिक दैनिकमा सुशिल भट्टराई लेख्छन्ः काठमाडौंबाट कोलकाताको हवाई दुरी ४५ मिनेटमात्र छ। यहाँभन्दा कोलकातामा इन्धनको भाउ साढे तीन गुणा सस्तो पनि पर्छ।

‘कोलकातामा हवाई इन्धन प्रतिलिटर ४१ रुपैयाँमात्र पर्छ,’ निगमका प्रवक्ता शर्माले भने, ‘त्यही इन्धन आयल निगमसँग किन्दा १ सय ३८ रुपैयाँ पर्न आउँछ।’ १० उडानबाट ३ सय ३० टन इन्धन ल्याउँदा १ करोड ३५ लाख ३० हजार रुपैयाँ खर्च लाग्छ। यति नै परिमाणको इन्धन आयल निगमसँग खरिद गर्दा ४ करोड ५५ लाख ४० हजार रुपैयाँ तिर्नुपर्छ।

निगमले अहिलेको इन्धन अभावबाट जोगिन दसैंसम्म भारतबाट सिधै इन्धन किनेर ल्याउने निर्णय गरेको छ। उसले आफ्नै ‘जहाज चार्टरु गरेर इन्धन ल्याउने छ।

निगमले दसैंसम्म थप आठवटा चार्टर उडान गरी २ सय ६४ टन हवाई इन्धन ुएयर टर्बाइन फ्युलु (एटिएफ) ल्याउने निर्णय गरेको हो। यसअघि असोज २१ गते उसले एकै दिन दुई उडान गरी ६६ टन इन्धन ल्याएको थियो।

‘हामी कुनै पनि अन्तर्राष्ट्रिय उडान रद्द गर्ने पक्षमा छैनौं, त्यही भएर सिधै भारतबाटै इन्धन खरिद गरेर ल्याउने निर्णयमा पुगेका हौं,’ निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले सोमबार नागरिकसँग भने, ‘मुलुकमा असहज परिस्थिति उत्पन्न भएका बेला नाफा र व्यापारभन्दा पनि यात्रु सेवा महत्र्वपूर्ण हो।’

निगमले आगामी दुई सातासम्म एक दिन बिराएर कोलकाताबाट इन्धन ल्याउने छ। यसरी ल्याउँदा निगमसँग ३ सय ३० टन इन्धन हुनेछ। तर, प्रत्येक उडानबाट १८ टन इन्धन जोगाउन सकिने छ। यसरी जोगाउँदा १ सय ८० टन निगमसँग रहने छ।

शर्माका अनुसार अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा निर्मित १ सय ९० सिट क्षमतायुक्त ‘बि७५७–२००’ सिरिजको जहाजबाट मात्र इन्धन ल्याइने छ। यसअघि दुईपटक पनि चार्टर उडान गरी इन्धन ल्याइएको हो। इन्धन ल्याउन छुट्टै ट्यांकीको प्रयोग नगरी जहाजकै ट्यांकीमा पूरै भरेर ल्याइन्छ।

इन्धन ल्याएपछि नेपाल आयल निगमको प्राविधिक सहयोगमा झिक्ने गरिन्छ। एक उडानबाट ३३ टन इन्धन ल्याए पनि १८ टनमात्र जहाजबाट निकालिन्छ र बाँकी इन्धन त्यही जहाजमा राखिन्छ। यहाँबाट कोलकाता जाँदा र फर्कंदा करिब आठ टन इन्धन खपत हुने गर्छ। बाँकी २५ टन इन्धन बचत हुने भए पनि कथंकदाचित आकस्मिक अवतरण गर्नुपर्ने अवस्था आए वैकल्पिक विमानस्थलका लागि सात टन इन्धन ट्यांकीमै राखिरहनुपर्छ।

निगमले कोलकातामा इन्डियन आयल कर्पोरेसन (आइओसी) सँगै इन्धन किनिरहेको छ। ऊसँग किन्दा अग्रिम भुक्तानी भने गर्नुपर्दैन। १५/१५ दिनमा बिल भुक्तानी गरे हुन्छ।

‘अब भने हामीले कोलकाताबाट ल्याएको इन्धन निजी आन्तरिक वायुसेवा कम्पनीका जहाजलाई पनि दिन्छौं,’ निगमका प्रवक्ता शर्माले भने, ‘निजी कम्पनीका उडान पनि रद्द नहोस् र यात्रु गन्तव्य जान पाउन् भनेर आवश्यक परे उनीहरूलाई इन्धन दिने योजना छ।’

उनका अनुसार निगमले ल्याएको इन्धन आयल निगमले जहाजबाट झिकेर भण्डारण गरिदिन्छ र आवश्यक परेका जहाजलाई उसैले दिनेछ। पछि इन्धन आपूर्ति सहज भएपछि आयल निगमले वायुसेवा निगमलाई दिनेछ।

इन्धन अभावको चर्को मार खेपिरहेको निगमले उडानलाई निरन्तरता दिन आफ्नै जहाजको ट्यांकीमा भरेर इन्धन ल्याउन थालेको हो। आयल निगमले आफूसँग मौज्दात नरहेको भन्दै काठमाडौं उडान गरिरहेका सम्पूर्ण विदेशी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः इन्धन भर्न दिन नसक्ने घोषणा गरिसकेको छ। यसबाट ध्वजावाहक वायुसेवा निगम पनि अछुतो रहेको छैन।

आवश्यक हवाई इन्धन अभावमा उडानसमेत ‘रोक्नुपर्नेु अवस्था आउन नदिन वायुसेवा निगमले आफैं तेलको जोहो गरेको हो। काठमाडौंबाट कोलकाताका लागि निगमको नियमित यात्रु उडान नभएका कारण आफ्नै जहाज चार्टर गरेर जानुपरेको हो। निगमका अनुसार काठमाडाैबाट कोलकाता एक पटक चार्टर उडान गर्दा ७ हजार अमेरिकी डलर (७ लाख रुपैयाँ) खर्च लाग्छ। यसमा उताको अवतरण (ल्यान्डिङ), पार्किङ, नेभिगेसनल शुल्क, जहाज मर्मत सबै खर्च समेटिएको छ। १० उडानका लागि निगमले ७० लाख रुपैयाँ खर्च लाग्छ।

निगमले यहाँबाट दोहा जाँदा नयाँदिल्ली र क्वालालम्पुर जाँदा भने कोलकातामा प्राविधिक अवतरण गरी पुनः इन्धन भरेर जाने गरेको छ र उताबाट फर्कंदा पनि ट्यांकी भरी तेल ल्याइरहेको छ। हङकङ र थाइल्यान्डको बैंकक गएर फर्कंदा पनि उतैबाट तेल लिएर आउने गरेको छ।

नेपालमा संविधान जारी भएका विषयमा बखेडा झिक्दै भारतले अघोषित नाकाबन्दी लगाएपछि दुई सातादेखि पेट्रोलियम पदार्थ आयात ठप्प भएको छ। यसको गम्भीर असर दैनिक उपभोग्य सामग्री आयातदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा परेको छ।

वायुसेवा निगमसँग अन्तर्राष्ट्रिय उडान गर्न चारवटा जहाज छन्। बोइङमा उत्पादित बि७५७ दुईथान र युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा उत्पादित ‘ए३२०–२००’ सिरिजका दुईथान जहाजबाट निगमले हाल पाँच देशका सात गन्तव्यमा उडान गरिरहेको छ।

तीमध्ये बि७५७ करिब ३० वर्ष पुराना हुन् भने ए३२० हालै खरिद गरी ल्याइएका हुन्। बि७५७ मा १ सय ९० सिट तथा ए३२० मा १ सय ५८ सिट क्षमता छ। बि ७५७ ले उडान गर्दा प्रतिघन्टा चार टन (चार हजार किलो) इन्धन खपत गर्छ भने ए३२० ले प्रतिघन्टा औसत तीन टन (तीन हजार किलो) खपत गर्छ।

निगमले हाल मलेसियाको क्वालालम्पुर र भारतको नयाँदिल्लीका लागि दैनिक एक–एक उडान गरिरहेको छ। त्यस्तै कतारको दोहा, हङकङ र थाइल्यान्डको बैंककका लागि सातामा तीन–तीन उडान गरिरहेको छ। भारतकै मुम्बई र बैंगलोरका लागि भने सातामा दुई–दुई उडान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।