0 COMMENTS

KP-Oliकाठमाडौं,२६ असाेज । नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई राष्ट्रवादी व्यक्तित्वका आधारमा मुलुकले हेरिरहेको समयमा भारतीय अखबारले भने उनी भारतका ‘असल मित्र’ रहँदै आएको खुलासा गरेको छ ।

मंगलबार भारतीय अखबार ‘दैनिक जागरण’ ले एनेकपा माओवादीको नाम उल्लेख नगरीकन ‘भारत विरोध कट्टर वामपन्थी दल’ को अहम् भूमिकाबाट ओली प्रधानमन्त्री भएको उल्लेख गर्दै ओलीको कार्यकालमा दुई देशबीचको तनाव अन्त्य हुने आशा प्रकट गरेको हो । सो अखबारले ‘ओलीमाथि भारतको भरोसा’ शीर्षकमा समाचार लेख्दै ओली भारतका असल मित्र रहेको जनाएको हो ।

सो अखबारले लेखेको छ, ‘नेपालका नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई यस पदमा पुर्‍याउन भारत विरोधी कट्टर वामपन्थी दलले अहम् भूमिका निर्वाह गरे पनि ओलीले दुबै देशबीच देखिएको तनाव कम गर्न सक्छन् भन्ने भारतको आशा छ ।’

भारतको यस्तो आशाको आधार ओलीकै विगतको राजनीतिक इतिहास रहेको पनि सो अखबारले खुलासा गरेको छ । समाचारमा लेखिएको छ, ‘वास्तवमा यस्तो आशाको आधारका पछाडी ओलीकै पुरानो रेकर्ड हो जसले वामपन्थी हुनका बाबजुद भारतसँगको सम्बन्धलाई बलियो बनाउन कयौं पटक अहम् कदम उठाइसकेका छन् ।’

उक्त अखबारका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा जलविद्युत क्षेत्रमा सहयोगका लागि भएको ऐतिहासिक सम्झौतालाई टुंगोमा पुर्‍याउन पनि ओलीले अहम् भूमिका निर्वाह गरेका थिए ।

भारतीय विदेश मन्त्रालयको स्रोतलाई उद्धृत गर्दै समाचारमा भनिएको छ, ‘ओलीले प्रधानमन्त्री पद सम्हाल्ने बित्तिकै दिएको प्रतिक्रियाले पनि विद्यमान तनाव अन्त्य गरी गम्भीरताका साथ भारतीय पक्षलाई बुझ्ने उनको आसय प्रष्ट भएको छ ।’

विगतमा मन्त्री रहँदा पनि ओलीले भारतसँग मित्रवत सम्बन्धलाई सबैभन्दा बढी महत्व दिएको सो अखबारले उल्लेख गरेको छ । सोही अखबारले नेपालको नयाँ संविधानमा भारतका दुई सुझावलाई सम्बोधन गर्दै संशोधन प्रक्रिया अघि बढाएको दाबी गरेको छ । संविधान संशोधन हुने समयसम्ममा भारतका अन्य सुझाव पनि समेटिने विश्वास भारतले लिएको उक्त अखबारले जनाएको छ ।

नेपाली राजनीतिमा ओलीलाई भारतीय स्वार्थ विपरीत राष्ट्रवादी व्यक्तित्वका रुपमा लिइरहेकै समयमा भारतीय अखबारको यस्तो दाबीले नेपाली राजनीतिमा नयाँ तरंग ल्याएको हो ।
इमेज खवरबाट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।