काठमाडौ, २६ असोज । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले भारतले लगाएको अघोषित नाकाबन्दीका बिषयमा कुटनीतिक प्रयास सरकारले सुरु गरिसकेको जानकारी दिएका छन् ।
मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले भारतसँग देखिएको पारवहन असहजताका बिषयमा राजनीतिक लेवलमा कुरा भइसकेको बताए । दशै अगावै पारबहान खुलाउने बिषयमा भारतसँग कुरा भएको उनले दावी गरे ।परराष्ट्रमन्त्री थापाले अहिलेकोसमस्यालाई तीन ढंगबाट समाधान गर्न सरकार लागि परेको जानकारी बताए । पहिलो राजनीतिक समस्याको रुपमा रहेको मधेस आन्दोलनलाई बार्ता र संबादको माध्यमबाट समाधान गर्ने, दोस्रो पारवहन तथा आवागमनमा देखिएको असहजता राजनीतिक समस्या समाधान र भारतसँग कुटनीतिक संबादबाट पहल गर्ने र तेस्रो दैनिक उपभोग्य बस्तु आपूर्ति समस्या समाधानको लागि मौज्दातमा अल्पकालिन, मध्यकालिन र दिर्घकालिन समस्या समाधान गर्ने नीति लिइएको बताए ।
नेपालको असंलग्नता, पञ्चशिल र संयूक्त राष्ट्र संघको बडापत्रमा आधारित पराष्ट्र नीतिलाई प्रो एक्टिब र प्राग्मेटिक ढंगले अगाडि बढाउने भन्दै चीन र भारतसँगको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउने दृढता ब्यक्त गरे ।
थापाले भने– दुई छिमेकीसँगको सम्बन्धलाई अझै सुदृढ गराएर नयाँ उचाईमा पुर्याउँछौ अब आर्थिक कुटनीतिक उच्च प्राथमिकताका साथ अगाडि बढाउँछौ ।
फरक राजनीतिक विचार बोकेको भए पनि गणतान्त्रिक संविधानको सपथ आफूले खाएकोले यसको कार्यान्वयन आफ्नो कर्तब्य भएको भन्दै पार्टीले भने संविधानको विचार तथा अभिब्यक्तिको स्वतन्त्रता अनुसार आफ्नो विचारलाई अगाडि बढाउने बताए ।फरक फरक विचार भए पनि अहिलेको सरकार राष्ट्रियताको सुदृढिकरण, प्रजातन्त्रको सवलीकरण र मुलुकको आर्थिक समृद्धिको चाहनाले गठन गरेको भन्दै फरक विचारले सरकारको प्रभावकारीतामा कुनै असर नपर्ने दावी गरे ।