0 COMMENTS

काठमाडौं, २६ असोज /नयाँ सरकार गठनसँगै मन्त्रालय बाँडफाँड र मन्त्रीहरूको छनोटलाई लिएर सत्तारुढ पार्टीहरूभित्रै विवाद सुरु भएको छ । विवादकै कारण गठबन्धन दल राप्रपा नेपालका अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसँगै एमाओवादीबाट पनि एकजनालाई उपप्रधानमन्त्रीको शपथ खुवाउने प्रधानमन्त्री केपी शर्मा ओलीको चाहना पूरा भएन ।

१५ दलको समर्थनमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री निर्वाचित भए पनि दलहरूबीच मन्त्रालय बाँडफाँडको टुंगो नलाग्दा मन्त्रीहरूको सोमबारको शपथको कार्यक्रम प्रभावित भयो । एमालेबाट प्रधानमन्त्री ओलीसँगै उपमहासचिव विष्णु पौडेलले अर्थमन्त्रीको शपथ खाने चर्चा आइतबार बेलुकीदेखि सोमबार दिउँसो १ बजेसम्म चल्यो । तर, पौडेलको शपथ भएन । आफू मन्त्री हुने कुरा आफैँलाई थाहा नभएको र यसबारे प्रधानमन्त्रीले पनि केही नभनेको पौडेलले बताए ।

स्रोतका अनुसार एमालेबाट प्रधानमन्त्रीपछिको दोस्रो बरियतामा को जाने भन्ने टुंगो नलाग्दा पौडेलको शपथ रोकिएको हो । उपाध्यक्ष भीम रावल र पौडेलमध्ये कसलाई के मन्त्री बनाउने भन्ने विवाद उत्पन्न भएको छ ।

‘रावलको रोजाइको मन्त्रालय परराष्ट्र थियो, तर उक्त मन्त्रालय राप्रपा नेपालले लिइसकेको अवस्थामा कुन मन्त्रालय दिने भन्ने टुंगो लाग्न सकेको छैन,’ स्रोतले भन्यो । रावललाई उपप्रधानमन्त्रीसहित रक्षा मन्त्रालय दिने तयारी भइरहेको छ । ‘रावल उप तथा रक्षामा गए पौडेलले अरू कुनै मन्त्रालय पाउँछन्, तर रावल नगएमा उपप्रधानमन्त्रीसहित पौडेलले कुनै एक मन्त्रालय पाउनेछन्,’ एमाले स्रोतले भन्यो ।

मन्त्रालयको बाँडफाँड नटुंगिँदा मन्त्री चयनमा सबैभन्दा समस्या एमाओवादीमा देखिएको छ । पार्टीबाट सरकारमा कसले नेतृत्व गर्ने भन्ने विवादकै कारण सोमबार एमाओवादीले उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको नाम दिन सकेन । पार्टीको नेतृत्व गरेर कसलाई पठाउने भन्ने विषयमा छलफल गर्न सोमबार बिहान पदाधिकारी बैठक बसेको थियो ।

स्रोतका अनुसार बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपप्रधानसहित गृहमन्त्रीका रूपमा पार्टीको नेतृत्व गर्न सचिव टोपबहादुर रायमाझीको नाम प्रस्ताव गरेका थिए । तर, महासचिव कृष्णबहादुर महराले पनि इच्छा देखाएपछि कसैको नाममा निर्णय हुन सकेन । प्रचण्डले महरालाई सभामुख हुन प्रस्ताव गरेका थिए । महराले पाए उपप्रधानमन्त्री तथा गृहमन्त्री खाने, नपाए सभामुखमा नजाने बताएको स्रोतले बतायो । महिला पनि भएको र उपसभामुख पनि भएको भन्दै महराले सभामुखमा ओनसरी घर्तीको नाम प्रस्ताव गरेका थिए । बैठकमा घर्तीको नाममाथि छलफल नै भएन ।

सहमति नजुटेपछि अध्यक्ष प्रचण्डले अहिले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र मन्त्रालयको बाँडफाँडको काम एमालेसँग नटुंगिएको बताउँदै ती पदहरूको बाँडफाँड टुंगिएपछि मन्त्रीहरूको टुंगो लगाउने र अहिलेलाई पार्टीबाट प्रतिनिधित्व गर्ने गरी कोषाध्यक्ष हरिबोल गजुरेललाई पठाऔँ भन्दै बैठक टुंग्याएका थिए । नयाँ पत्रिका दैनिकमा उज्वल पहाडीले खबर लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।