0 COMMENTS

काठमाण्डौं, २४ असोज । १६ बुँदे भद्र सहमति गरेर एमालेलाई नेतृत्व दिन तयार भएका कोईरालाले प्रधानमन्त्री पदका लागि आफैं उम्मेदवारा बनेपछि एमाले काँग्रेसको लामो राजनीतिक यात्रा समेत तुहिएको छ । २०५५ सालदेखिको काँग्रेस एमालेको यात्रा दोश्रो संविधानसभापछाडि त घाँटी नै जोडिएर अगाडि बढेको थियो । उक्त सहमति तोडदै प्रधानमन्त्रीका लागि उम्मेदवारी दिएका कांग्रेस सभापति सुशील कोइरालाले आफ्नो पक्षमा बहुमत पुर्‍याउन लवि« गरेकाछन् ।
४ दलीय सहमतिमा राम्रो भूमिका निभाएको जस पाएका कोईरालाको यो चरित्र देखेपछि साक्षी किनाराका एमाओबादी अध्यक्ष प्रचण्ड र बिजय कुमार गच्छेदार तीन छक्क परे । यद्यपी गच्छेदार कोईरालाकै पक्षमा लागेका छन भने प्रचण्ड भने पूर्वसहमति अनुसार kp-vs-susilप्रधानमन्त्रीका उम्मेदवार केपी ओलीका प्रस्तावक बनेका छन । ओलीका पक्षमा बहुमत दल भएपनि प्रतिस्पर्धामा ओली ढुक्क हुने अबस्था छैन । प्रतिस्पर्धामा थोरैको अन्तर छ ।

आफूनिकटका नेतालाई लगाएर मधेसवादी दलदेखि दुईवटै राप्रपासँग वार्ता गरेको केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले जानकारी दिए । ‘उम्मेदवारी दर्ता गराउँदै बानेश्वरमा प्रचण्डजी, माधव नेपालजीहरूसँग पनि छलफल भएको थियो, त्यसपछि पनि हामी बहुमत जुटाउन छलफलमा छौँ,’ उनले भने, ‘मधेसवादी दल र दुईवटै राप्रपासँग पनि वार्ता गरेका छौँ ।’ अन्य साना पार्टीसँग पनि छलफल भइरहेको उनले बताए । बहुमत जुटाउन प्रयासरत रहेको भन्दै उनले भने, ‘हाम्रो इस्यु मधेसको समस्या समाधान, संघीयताको सीमांकन, आन्दोलन रोक्न पहल गर्नेसहितका छन् । कांग्रेस मध्यमार्गी पार्टी हो । त्यसले हामीलाई विश्वास गरेर बहुमत दिन्छन् भन्ने लागेको छ ।’ प्रधानमन्त्रीमा उम्मेदवारी दिएको भन्दै सभापति सुशील कोइरालाप्रति कांग्रेसमा तीव्र असन्तुष्टि देखिएको छ । एमालेलाई प्रधानमन्त्री दिने भद्र सहमतिविपरीत आश्चर्यजनक रूपमा कोइरालाले एकाएक प्रधामन्त्रीमा उम्मेदवारी दिएको भन्दै कांग्रेसका सांसद र केन्द्रीय सदस्यले उनीप्रति असन्तुष्टि जनाएका हुन् । कोइरालाको उम्मेदवारीप्रति असन्तुष्टि देखाउँदै कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले पदबाट राजीनामा नै दिएका छन् । ‘संविधान पनि मिलेर जारी गर्ने र त्यसपछि पनि मिलेर सरकारमा जाने सहमतिविपरीत सभापतिले उम्मेदवारी दिएपछि त्यसमा सहमति हुन सकिनँ र उहाँले नै बनाएको सहमहामन्त्रीबाट राजीनामा दिएको हुँ,’ खड्काले भने ।
हुम्लाका सांसद जीवनबहादुर शाहीले पनि अस्वाभाविक रूपमा उम्मेदवारी परेको भन्दै कांग्रेसका लागि लज्जाको विषय भएको बताए । ‘आफ्नो बहुमत नहुने अवस्थामा अमुक शक्तिले उचाल्न खोज्दा उचालिने यो राष्ट्रघात हो’ शाहीले भने । संविधान जारी गरेकोमा सभापतिलाई ‘फादर अफ कन्स्टिच्युसन’ भने पनि अमुक शक्तिको आडमा उचालिँदै तीन दलको एकतालाई भाँड्ने किसिमले अघि बढ्दा कांग्रेसमा दाग र धब्बा लागेको उनले बताए । नेपाललाई सिक्किम बनाउन खोजेको, तर नसकेपछि भुटानीकरण खोजेको उनको आरोप छ । उनले भने, ‘त्यसैले कसैले असन्तुष्ट हुने ठाउँ छैन । उहाँले सबैलाई मिलाएर लान तयार छु भन्नुभएको छ ।’ केन्द्रीय सदस्य एवं सांसद महालक्ष्मी उपाध्याय ‘डिना’ले सहमतिको भए ठीकै हुने भन्दै पहिलो पार्टी भएकाले कांग्रेसको दाबी स्वाभाविक भएको बताइन् । सांसद रामहरि खतिवडाले कांग्रेस अर्कैले चलाएको र कांग्रेसले जित्दा देशले हार्ने अवस्था आउन नहुने बताए । ‘कांग्रेस कसले चलाएको छ भन्ने नेगेटिभ म्यासेज जनतामा गएको छ । हामीलाई राजनीतिमा जितेर हारिन्छ भन्ने चिन्ता छ,’ उनले भने, ‘कांग्रेसले जितेर मुलुकले हार्ने अवस्था नआओस् ।’ कांग्रेस केन्द्रीय सदस्य एवं सांसद चन्द्र भण्डारीले पनि प्रधानमन्त्रीमा उम्मेदवारी दिएर कांग्रेसले भुल गरेको आफ्नो फेसबुकमा लेखेका छन् । ‘प्रधानमन्त्री पदको उम्मेदवारका लागि नेता सुशील कोइराला र केपी ओलीले नामांकन गरेका छन् । तर, जो जे भए पनि सुशील कोइरालाको नामांकन मेरो विचारमा इतिहासको सबैभन्दा ठूलो भुल हुनेछ,’ उनले लेखेका छन्, ‘जसले उहाँलाई सल्लाह दिए, त्यो सल्लाह तिनीहरूको थिएन । मेरो विचारमा धेरै प्रतिक्रिया आउन सक्दछ । तर, भोलि इतिहासले प्रमाणित गर्नेछ । सभापतिको निर्णय ठीक होइन ।’ केन्द्रीय सदस्य एवं सांसद धनराज गुरुङले पनि विदेशीले थापेको पासोमा टाउको छिराएर मर्नुभन्दा आत्महत्या गर्नु स्वीकार्य छ भन्दै बैठकमा बोलेको भन्दै दुई दिनअघि नै फेसबुकमा लेखेका थिए, ‘सहमतीय संस्कारको जगमा नयाँ सरकार गठन गरेर नेपाली राजनीतिमा चल्दै आएको भारतीय हैकमवादलाई सदाका लागि बिदा गर्नुपर्छ भनेर मैले अस्ति नयाँ पत्रिकामा लेख लेखेँ । हिजो केन्द्रीय समितिमा ‘विदेशीले थापेको पासोमा टाउको छिराएर मर्नुभन्दा मलाई आत्महत्या स्वीकार्य छ’ भनेर नेताहरूको आँखा खोल्ने प्रयत्न गरेँ, तर खोल्न सकिनँ । पदलोलुपताले मान्छेलाई यति साह्रै दृष्टीविहीन बनाउँछ भन्ने थाहा पाउँदा अत्यन्तै दुस्ख लागेको छ ।’ नयाँ पत्रिकाबाट साभार

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।